नवगठित दुधौली प्रज्ञा प्रतिष्ठानमा पौडेल कुलपति

सिन्धुली जिल्लाको दुधौली नगरपालिकाले हालै एक भेलाको आयोजना गरी स्थानीय रूपमा भाषा, साहित्य तथा संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले साहित्यकार दिलबहादुर पौडेलको संयोजकत्वमा २३ सदस्यीय दुधौली प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । नगरपालिकाले गत कात्तिक ३० गते आयोजना गरेको भेलाले पौडेललाई सर्वसम्मत रूपमा तदर्थ समितिको संयोजक चयन गरेको हो ।

भेलामा दुधौली नगरपालिकाका मेयर तथा नवगठित दुधौली प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक घनश्याम राउतले प्रज्ञा प्रतिष्ठानले सञ्चालन गर्ने गरी आफ्ना मातापिताका नाममा एकलाख रुपैयाँको अक्षय कोषको स्थापना गर्ने पनि घोषणा गरेका थिए ।



भेलाले एउटा नगर पुस्तकालय खोल्ने पनि निर्णय गरेको छ । यस पुस्तकालयको स्थापनाले अध्ययनशील स्थानीय धेरैलाई फाइदा पुग्ने र विशेष गरी स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई शोध कार्य गर्न ठूलो मद्दत पुग्ने देखिएको छ ।

नगरपालिकाले आयोजना गरेको उक्त भेलाले सातजना साहित्यिक प्रतिभाहरूलाई पनि सम्मान गरेको थियो । सम्मानित हुनेहरूमा डा. कृष्णहरि बराल, डा. हरि सिलवाल, महेश प्रसाई, दिल पौडेल, चेतनाथ धमला, पुष्कर साउतेली तथा सानु कोविद रहेका थिए ।

भेलालगत्तै बसेको दुधौली प्रज्ञा प्रतिष्ठानको तदर्थ समितिको पहिलो बैठकले पद व्यवस्थापन गर्दै संयोजक दिल पौडेललाई प्रतिष्ठानको संस्थापक कुलपतिका रूपमा चयन गरेको थियो । यसैगरी बैठकले उपकुलपतिमा ई. संजीव बस्नेत, सचिवमा चूडामणि काफ्ले, सह–सचिवमा रवीन्द्र भट्टराई, कोषाध्यक्षमा पवित्रा गौत्तमलगायत अन्य १८ जनालाई सदस्यमा चयन गरेको थियो ।

प्रतिष्ठानको बैठकले नाट्यकला विभाग, सङ्गीत विभाग, भाषा–साहित्य विभाग, चित्रकला विभाग तथा दलित साहित्य तथा संस्कृति विभाग गरी पाँच विभागहरू गठन गर्ने पनि निर्णय गरेको थियो ।

दुधौली प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपति दिल पौडेलले नवकान्तिपुर संवाददातासँग सङ्क्षिप्त कुरा गर्दै कुलपति जस्तो गरिमामय पदमा आफूलाई चयन गरेकोमा आफू अत्यन्त खुसी र सम्मानित भएको महसुस गरेको कुरा व्यक्त गर्दै प्रतिष्ठानको गरिमा बचाउन आफूले पनि सक्दो पहल र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार