समाजवादी पार्टीले मन्त्रालय हेरफेरप्रति असहमति जनाएको छ । पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले तत्काल सरकारबाट बाहिरिनु उचित नहुने निष्कर्ष निकाले पनि मन्त्रिपरिषद् पुनर्गठनप्रति भने असहमति जनाएको हो ।
पार्टीले सरकार गठनका क्रममा भएको संविधान संशोधनाको सहमति कार्यान्वयनबारे सरकार र सत्तारुढ दलसँग वार्ता गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मन्त्रिपरिषद् पुनगर्ठन गर्दा उपेन्द्र यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानुन दिइएको थियो भने राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरिएको थियो । मन्त्रालय हेरफेर हुँदा यादव भारतमा थिए ।
उनी स्वदेश फर्किएपछि शनिबार बसेको समाजवादी पार्टीको बैठकले मन्त्रालय हेरफेर गठबन्धन संस्कृति विपरित भएको भन्दै असहमति जनाएको हो । ‘यो गठबन्धन संस्कृति विपरित छ । यसप्रति हामी असहमत छौं, बैठकपछि अध्यक्ष यादवले भने ।
कार्यदलमा पार्टी अध्यक्ष डा बाबुराम भट्टराई, नेताहरु उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ रहेको पार्टीका नेता डा शिवजी यादवले जानकारी दिए ।
समाजवादी पार्टीको पदाधिकारी वैठकको निर्णयः
१, प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी हालै भएको मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले यसप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौं ।
२, असहमत भएका विषय र हाम्रो पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी नेकपा सँग वार्ता गर्न वार्ता समिति निर्माण गरेका छौं ।
३, वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहनुभएको जानकारी गराउँदछौं ।