बाम एकताले राष्ट्रिय रूपमा नै एकताको सन्देश दिएको छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम एकताले राष्ट्रिय रूपमा नै एकताको सन्देश दिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चा सम्बद्ध बाम गठबन्धनले जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आयोजना गरेको बृहत चुनावी आम सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले तत्कालिन एमाले र माओवादी एकता भइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनावी मैदानमा जानुले मुलुकभर एकताको सन्देश दिएको बताए । उनले नेपालको विकासका लागि कम्युनिष्टहरू एक हुनुको विकल्प नभएको र अब कम्युनिष्टहरू फुटेर हैन जुटेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।



भारतले मिचेको कालापानी, लिपुलेक, नालापानी र लिम्पियाधुरा नेपालकैै भू–भाग भएको भन्दै अध्यक्ष दाहालले भ्रममा नपर्न पनि नेपाली जनतालाई आग्रह गरे । उनले त्यसको लागि सरकार, सबै राजनैतिक दलहरू एक ढिक्का भइसकेको र कुटनैतिक ढङ्गबाट समस्याको समाधान गरिने बताए ।

संयुक्त चुनावी आम सभामा नेकपाका महासचिव विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेल, स्वर्र्गीय सांसद टेकबहादुर घर्र्तीकी धर्मपत्नी सुनमाया घर्र्ती, नेकपाका नेता शेरमान घर्ती आदिले मन्तव्य राखेका थिए ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाको अध्यक्षतामा सञ्चाललित कार्यक्रममा स्वागत मन्तव्य ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालले गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव ज्ञामनाथ गैरेले उद्घोषण गरेका थिए ।

सम्बन्धित समाचार