उपनिर्वाचनमा वैकल्पिक शक्तिलाई छान्नुस्: उपप्रधानमन्त्री यादव

उपप्रधानमन्त्री एवं कानून तथा न्यायमन्त्री उपेन्द्र यादवले १४ गते यहाँ हुने उपनिर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको समाजवादी पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

भक्तपुरको कमल विनायकमा आयोजना गरिएको चुनावीसभामा आज साँझ समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले जनताले सधैँ नेकपा र काँग्रेसलाई मात्रै नभई वैकल्पिक शक्तिलाई पनि विश्वास गर्नुपर्ने बताए । जनताले नेपाल कम्युनिष्ट पार्टी र काँग्रेसको शासन सत्ताको नेतृत्व भोगिसकेको बताउँदै जनताले समाजवादी पार्टीलाई विश्वास गरे देश र जनताको पक्षमा काम गर्ने बताए ।



उपप्रधानमन्त्री यादवले राजनीतिक, साङ्गठनिक र व्यावहारिकरूपमा पनि यो पार्टी वैकल्पिक शक्तिकै रूपमा आएको बताए ।

कार्यक्रममा समाजवादी पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले समाजको विकासको पक्षमा राज्य सत्ता निर्माण गर्न समाजवादी पार्टीले उम्मेदवारी दिएको बताए । उनले काँग्रेसको विकल्प नेकपा र नेकपाको विकल्प काँग्रेस मात्रै नभई अब नयाँ वैकल्पिक शक्तिका रुपमा आएको समाजवादी पार्टीलाई जनताले विकल्पका रुपमा रोज्नुपर्छ भने ।

कार्यक्रममा पूर्वमन्त्री हिसिला यमी, परशुराम खापुङ, केन्द्रिय सदस्य वीरेन्द्र प्रधान, भक्तपुर अध्यक्ष श्याम शिल्पकारले भक्तपुरमा पनि विकल्पका रूपमा समाजवादी पार्टी उदाएको बताउँदै जनताले अब समाजवादी पार्टीलाई विश्वास गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार