सरकार र मेडिकल कलेजबीचको सहमति विद्यार्थीद्वारा अस्विकार

सरकार र मेडिकल कलेज सञ्चालकबीच भएको सहमति विद्यार्थीले अस्वीकार गरेका छन् । शुल्क समायोजनका नाममा सरकारले विद्यार्थीलाई झुक्याएको र मेडिकल कलेज सञ्चालकलाई पोसेको उनीहरुको आरोप छ ।

चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार विज्ञप्ति निकालेर सरकार र मेडिकल कलेजबीचको सहमति नमान्ने बताएका हुन् । उनीहरुले सरकारले मध्यरातमा मेडिकल कलेजसँग सहमति गरे पनि विद्यार्थीलाई झुलाएको, पर्याप्त प्रमाण हुँदा पनि कारबाही गर्नुको साटो संरक्षण गरेर ‘अन्याय’ गरेको आरोप लगाएका छन् ।



चिकित्सा शिक्षा संघर्ष समितिका महासचिव अनित सिन्हाले मेडिकल कलेज सञ्चालकले समायोजन गर्ने वचन पहिल्यै दिए पनि शुल्क फिर्ता नगरेको बताए । विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कको अध्ययन र छानबिनको जिम्मा चिकित्सा शिक्षा आयोगलाई दिनु अनौठो भएको पनि उनले बताए ।

चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले शुल्क फिर्ताका लागि फेरि काठमाण्डौ केन्द्रित संघर्ष गर्ने बताए । कलेजमा सञ्चालकले कुट्ने, मार्ने धम्की दिने, पठनपाठन नहुने भएकाले सरकारलाई दबाब दिन फेरि काठमाण्डौ केन्द्रित आन्दोलन सुरु गर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार