प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उनलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ ।
विज्ञप्तिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मंसिर १० गते एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीको मृगौलाको नियमित रुपमा डायलासिस भइरहेको छ ।
अस्पतालको शैंयाबाट समेत प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्यबारे कस्ता कस्ता समाचारहरु आए भन्ने बारेमा अपडेट छन् । उनले अस्पतालका चिकित्सकहरुसँग आफू अस्पतालमा रहेका बेला आफ्नो स्वास्थ्यका विषयलाई लिएर कुन सञ्चारमाध्यमबाट कस्ता समाचारहरु आए भन्नेबारे जानकारी लिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री उपचाररत अस्पतालमै गएर स्वास्थ्य जानकारी लिएका छन् । प्रधानमन्त्री सघन उपचार कक्षमा रहेका कारण प्रत्यक्ष भेट गर्न नपाए पनि सभापति देउवाले डाक्टरहरुसँग छलफल गरी स्वास्थ्य जानकारी लिएका थिए ।