विशेष राजनीतिक अभियान सञ्चालन गर्दै नेकपा

सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको हो ।

विशेष गरी उक्त अभियानमा पार्टी एकताको कामलाई गाउँस्तरसम्म पुर्याउने र सरकारको कामका बारेमा समेत जनतालाई जानकारी दिने लक्ष्य राखिएको छ । राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सरकार, पार्टी र जनताको सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन विशेष अभियानको तयारी भइरहेको बताए ।



एकताका केही छिटफुट काम केही दिनभित्रै सम्पन्न गर्ने मनस्थितिमा आफूहरु पुगेको उनको भनाइ छ । “अब छिट्टै स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाएर योजनाबद्धरुपमा जनताको बीचमा जाने तयारी गरिएको छ”, उनले भने । विशेष गरी नेकपाले सचिवालय बैठकमार्फत आवश्यक निर्णय लिँदै आएको छ । त्यसले पार्टी कमिटी संस्थागत नभएको आरोपसमेत बेलाबेलामा लाग्ने गरेको छ । अन्य एकताका कामले साकार रुप लिए पनि पोलिटब्यूरो गठन भने हुन सकेको छैन । पार्टीभित्र तत्काल स्थायी र केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने माग पनि उठेको छ ।

पार्टी एकतापछि स्थायी कमिटीको बैठक एक पटक मात्रै बसेको छ । पार्टीलाई बढी व्यवस्थित र वैज्ञानिक बनाउने लक्ष्यका साथ अब नियमितरुपमा कमिटीका बैठक राख्ने, योजना तय गर्ने र कार्यान्वयन गर्ने योजनामा नेकपा पुगेको छ । सचिवालयको पछिल्लो बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काममा मात्रै केन्द्रित रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन टुङ्गो लागेको छ ।

अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लागेसँगै पार्टी कामकारवाहीले जीवन्तता प्राप्त गर्ने विश्वास लिइएको छ । पार्टी सदस्यका रुपमा रहेका आठ लाख बढी नेता, कार्यकर्तालाई राष्ट्रियरुपमा परिचालन गर्ने योजनाका साथ पार्टी लागेको महासचिव पौडेलको भनाइ छ । ठूलो सङ्ख्यामा रहेका पार्टी नेता कार्यकर्तामा राजनीतिक कार्यक्रम र गतिविधि सुस्त हुँदा पार्टीले निकै ठूलो क्षति ब्यहोर्नुपरेको गुनासो पार्टीभित्रै उठ्दै आएको छ ।

एकता प्रक्रिया नटुङ्गिएका कारण कार्यकर्ता तहमा भएको अन्योल अहिले साम्य भएको भन्दै महासचिव पौडेलले तीन तहको सरकारले गरेका महत्वपूर्ण कार्य सम्पादनबारेमा जनता र कार्यकर्तालाई समेत जानकारी दिनका लागि अभियान जरुरी रहेको बताए । अभियानसँगै सरकार र पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आमपार्टी पङ्क्ति र जनसमुदायलाई एक साथ सन्देश दिन लागिएको उल्लेख गर्दै उनले त्यसले जनतासँगको सम्बन्धलाई समेत थप सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार