मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन सक्दैन: निधि

नेपाली काँग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् । सीताराम विवाह महोत्सवअन्तर्गत आज जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट आएका प्रतीकात्मक जन्तीलाई स्वागत गर्दै पूर्वउपप्रधानमन्त्री निधिले मिथिला र अयोध्याको सम्बन्ध शाश्वत रहेको प्रसङ्ग उल्लेख गरे ।

मिथिलावासी भौतिक सम्पत्तिका दृष्टिले गरीब भए पनि मनको धनी भएको चर्चा गर्दै उनले रामको ससुराली मिथिला र सीताको कर्मघर अयोध्या भएकामा मिथिलावासीलाई गर्व छ भने। उनले सीताको साथले नै राम शक्तिशाली भएको र मर्यादा पुरूषोत्तम हुने गौरव प्राप्त गरेको हो भन्दै माता सीताकै कारण रामराज्य आदर्शका रूपमा स्थापित रहेको बताए ।



अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा रामसँगै सीताको मूर्ति पनि निर्माण हुनुपर्दछ भन्दै उपसभापति निधिले रामसँग सीताको मूर्ति नराखिएमा सीतारामको शक्ति नै अधुरो रहने धारणा राखे।

नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले अयोध्या र मिथिलावासीको सम्बन्ध अटुट भएको प्रसङ्ग उल्लेख गरे ।

सम्बन्धित समाचार