उपनिर्वाचन स्थलमा तीन घेराको सुरक्षा, मतगणनास्थलमा सिसिटिभी र तारजाली

धरान उपमहानगरपालिकाको प्रमुखका लागि हुने उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यलयले सुरक्षा व्यवस्था चुस्त बनाउने जनाएको छ । मंसिर १४ गते निर्वाचनका लागि निर्वाचनको समय र निर्वाचनपछि हुने मतगणनाको सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी भएको कार्यालयले जनाएको छ ।

निर्वाचन अवधिभर मतदान स्थलमा तीन घेराको सुरक्षा व्यवस्था हुनेछ । पहिलो सुरक्षा घेरामा प्रहरी रहनेछन् भने मतदान केन्द्र बाहिर सशस्त्र प्रहरीको सुरक्षा घेरा हुनेछ । सहायक निर्वाचन अधिकृत निधिराम दाहालका अनुसार प्रत्येक मतदानस्थलमा १० जना प्रहरी हुनेछन्। तीमध्ये दुईजना हतियारधारी प्रहरी हुनेछन्। मतदान केन्द्रको सुरक्षाका लागि जम्मा ७५० प्रहरी खटिएका छन् ।



मतदान केन्द्रबाहिर सुरक्षाका लागि सशस्त्र प्रहरीको घेरा हुनेछ । धरानको उपनिर्वाचनमा ५०० जना सशस्त्र प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयको अनुसार तेस्रो घेरामा नेपाली सेनाको मोबाइल टोलीले पनि निरन्तर गस्ती तथा पेट्रोलिङ गर्ने छ । आवश्यक परेको स्थानमा सशस्त्र प्रहरी दुई र सेनाको टोली पाँच मिनेटभित्र पुग्ने कार्यालले जनाएको हो ।

मतगणना स्थलको सुरक्षा तथा मतगणना पारदर्शी बनाउन सिसिटिभीको व्यवस्था गरिने छ । मतगणना धरान–१५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने जनाइएको छ । उप्रेतीका अनुसार मतपेटिका सुरक्षित रहने कोठामा एउटा सिसिटिभीजडान गरिएको छ । यस्तै, मतगणनास्थलमा दुई वटा सिसिटिभि जडान गरेर निगरानी गरिनेछ । यस्तै, भवन परिसरको गतिविधि निगरानी गर्न एउटा सिसिटिभीबाहिर हुने छ भने मतगणनास्थलमा गणक कर्मचारी र उम्मेदवारको प्रतिनिधिबीचमा तारजाली पनि राखिने मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए ।

सम्बन्धित समाचार