प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सञ्चारमाध्यमले अफवाह फैलाए : प्रेस सल्लाहाकार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आज रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुराकानी गर्दै  प्रधानमन्त्रीको स्वास्थ्य स्थिती तिब्र रुपमा सुधार भइरहेको र उहाँ अर्को हप्ता डिस्चार्ज हुने बताएका छन् ।

सल्लाहकार थापाले प्रधानमन्त्रीको स्वास्थ्यबारे सञ्चार माध्यमहरुले सत्य तत्थ र आधिकारिकता पुष्टि नगरी अफवाह फैलाएको आरोप लगाए । एपेण्डिसाइटीस सामान्य अप्रेसन भएको बताउँदै उनले सञ्चार माध्यमहरुले यसलाई किड्नी नै प्रत्यारोपण गरे जस्तो हल्ला फैलाएको बताए । नाम चलेका अखबारले समेत प्रधानमन्त्रीको यो नै अन्तिम अवस्था हो भने जसरी ठूला अक्षरमा छापिदिएकोमा आपत्ति जनाए । साथै उनले “वैयक्तिक स्वतन्त्रता ऐन २०७५” नेपाली सञ्चार माध्यमहरुले नपढेको भनी जिकीर गरे । प्रधानमन्त्रीको स्वास्थ्य समस्या आकस्मिक नभई चालीस बयालीस बर्षदेखि हुँदै आएको र उहाँलाई किड्नी समस्या रहेको बताए ।



पेट दुखेर महाराजगञ्जस्थित अस्पताल लगिएका प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार शल्यक्रिया गरिएको थियो ।

सम्बन्धित समाचार