कास्कीका ३ स्थानमा बम विष्फोट भएको छ । अर्मला, बागमारा र नयाँबजारको नवप्रभाव विद्यालयको मतदान केन्द्रमै बम विष्फोट भएको छ । केन्द्रमै बम विष्फोट भएपछि मतदान स्थगित गरिएको छ । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीयले बताएका छन् ।
बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ । बम बिष्फोट गराउने व्यक्ति तथा समूहको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
डोटीमा मतदान केन्द्रलाई लक्षित गरी राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । आदर्श गाउँपालिका वडा नम्बर २ मा रिक्त वडाध्यक्षका लागि भइरहेको मतदानमा मतदान केन्द्र नजिकै राखिएको बम डिस्पोज भएको हो ।
मतदान केन्द्र नजिकै बम देख्दा केहिवेर स्थानीय त्रसित भएका थिए । अहिले सामान्य रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।