मनोहरा साहित्य समाजद्वारा स्रष्टा सम्मानित

मनोहरा साहित्य समाज (पेप्सीकोला, प्लानिङ) ले आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा विभिन्न स्रष्टाहरूलाई सम्मान गरेको छ । समाजका संयोजक तथा चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमका सभापति डिल्लीराज अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्राडा माधवप्रसाद पोखरेलले स्रष्टाहरूलाई खादा ओढाई तथा सम्मान–पत्र प्रदान गरी उनीहरूको साहित्यिक योगदानको सम्मान गरेका थिए ।

सम्मान पाउनेहरूमा एक वर्षभित्र मनोहरा साहित्य समाजको मासिक साहित्यक कार्यक्रममा कविता, गजल तथा गीत प्रस्तुत गर्नेहरूमध्येबाट उत्कृष्ट साहित्यकारद्वय खोलाघरे साहिँलो तथा टीएन भट्ट विश्वामित्र तथा समाजबाहिरबाट नेपाली साहित्यका पुस्तक प्रकाशन गरी नेपाली साहित्यका क्षेत्रमा ठूलो योगदान पु¥याउन सहयोग गर्नेहरूमध्येबाट माधव काफ्ले रहेका थिए ।



कार्यक्रममा साहित्यकारहरू टीएन भट्ट विश्वामित्र, खोलाघरे साहिंलो, भवकेशर बराल, अनुराग अरुण, सीता आस्था, प्रेम राई परीक्षित, राजबाबु श्रेष्ठ, राधा कार्की, बबिता थापा, घनश्याम प्रसाई, डिल्लीप्रसाद मूलतिहुन, डा. प्रदीप मैनाली, विजय विश्वास तामाङ, मन्दिरा मधुश्री, शान्ति सापकोटा, भुवन शिवाकोटी, रवीन्द्र ढुङ्गेल, विदुर चालिसे आदिले आ–आफ्ना रचनाहरू वाचन गरेका थिए ।

साहित्यकार तथा साहित्य अनुरागीहरूको राम्रै उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राडा माधवप्रसाद पोखरेल, अतिथिद्वय निर्मोही व्यास तथा गोविन्द घिमिरे वेदमणिले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन साहित्यकार शीतल गिरीले गरेका थिए ।

आफू रहेको समाजमा केही मात्रमा भएपनि साहित्यिक योगदान दिने उद्देश्यले विसं २०७२ साल असोजमा केही उत्साही साहित्यकारहरूको भेला गरी मनोहरा साहित्य समाजको गठन गरिएपछि संस्थागत रूपमा समाजले प्रत्येक महिनाको दोस्रो शनिबार नियमित रूपमा साहित्यिक कार्यक्रम गर्दै आएको कुरा समाजका संयोजक डिल्लीराज अर्यालले जानकारी दिए ।

सम्बन्धित समाचार