महेश कठायत ।
काठमाडौं, १६ मंसिर ।
पछिल्ला केही महिनायता नेपाली समाजमा विभिन्न अपराधिक घटनाहरू एकपछि अर्को गरेर बाहिर आए, जसले चिया पसलदेखि संसदसम्म, स्थानीय तथा मोफसलका सञ्चार माध्यमदेखि लिएर अन्तर्र्रािष्ट्रय जगत्सम्म चर्चा पनि पाइरहेका छन् । यस्ता घटनाहरू टेलिभिजनको पर्दामा र अखबारहरूको पहिलो पृष्ठमा ठूलठूला अक्षरमा हेडलाइनहरू बने । तीमध्ये पनि सबैभन्दा बढी तत्कालीन सभामुख महराको यौनकाण्ड र इटाभट्टामा जिउँदै मान्छे जलाएको काण्डले आम नागरिकको ध्यान आकर्षित गर्यो । यी नमिठा घटनाले मस्तिष्कबाट ठाउँ छोड्न नपाउँदै फेरि अर्को घटनाले मान्छेको दिमागलाई नमज्जाले बिथोलिदियो ।
गुरु शब्द सुन्ने बित्तिकै हरकोहीको श्रद्धाभावले शिर निहुरिन्छ । जसले हरक्षण हरसमय ज्ञानका कुरा बाड्ने गर्छ, जसले सधै सत्कर्म गर्न र सत्मार्ग हिड्न सिकाउँछ, त्यही गुरुले जब बाटो बिराउँछ, तब कसलाई विश्वास गर्न सकिन्छ र ? आज बाटोबाट भड्किएका यस्तै एकजना धर्म गुरुमाथि गम्भीर आरोप लागेको छ, जसले गर्दा गुरु शब्दको गरिमालाई नै अपवित्र बनाइदिएको छ ।
धर्मगुरु कृष्णदास महाराज तथा सिद्वबाबाको वास्तविक नाम कृष्णबहादुर गिरी हो । सोलुखुम्बुमा जन्मिएर सुनसरीको चतरामा बस्दै आएका कृष्णदासले आफ्नै एक महिला अनुयायीलाई गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउदा प्रहरीले लिन नमानेपछि पीडित महिला काठमाडौं प्रहरी परिसर, टेकु र केन्द्रीय अनुसन्धान ब्युरोसम्म आइपुगेकी थिइन् । सीआईबीले उनको स्वास्थ्य परीक्षण गराएर फाइल सुनसरी पठाइदिएपछि जाहेरी दर्ताका आधारमा पक्राउ गर्न अदालतले अनुमति दियो । तर बलात्कार उजुरी परेको सार्वजनिक भएसँगै कृष्णदासजी हृदयघात भएको भन्दै विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भए । अस्पताल भर्ना भएका कृष्णदासलाइ जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान विराट नर्सिङ होमको आईसीयू कक्षबाटै पक्राउ गर्यो ।
बलात्कार उजुरी बाहिरिएपछि कृष्णदासजीका अनुयायीहरुले बाबालाई फसाउने षड्यन्त्र भएको भन्दै आरोप लगाउने महिलाले कृष्णदासजीलाई पठाएका म्यासेज सार्वजनिक गरे । म्यासेजमा ती महिलाले एकतर्फी रूपमा कृष्णदासजीलाई म्यासेज पठाएको देखिन्छ । महिलाले कृष्णदासलाई पटक–पटक भेट्ने इच्छा व्यक्त गर्दै ४४ दिनभित्र भगवान र भक्तको वारपार हुने म्यासेज पठाएको देखिन्छ । कृष्णदासले पनि गत कात्तिक १९ गते टेकु प्रहरीमा ती महिलाविरुद्ध ‘सार्वजनिक गाली बेइज्जती’ को जाहेरी दिएका थिए । तर यसको केही समयपछि उल्टै यता कृष्णदास गिरीले आफूबाट गल्ती भएको स्वीकार गरेको अडियो सञ्चार माध्यमबाट बाहिरियो । जसमा कृष्णदासले महिलालाई गरेको फोन रेर्कडमा आफूबाट गल्ती भएकाले क्षमा माग्दै कारवाही रोक्न आग्रह गरेका छन् ।
कहिले सुनसरी–मोरङ सिँचाइ आयोजनाको जग्गाले त कहिले गैरकानुनी रूपमा लिएको दोहोरो नागरिकताले गर्दा पटक पटक विवादमा तानिएका कृष्णदास उच्च ओहोदाका कर्मचारी, नेता, मन्त्री तथा भारतीय अधिकारीलाई समेत प्रभावमा पार्न सक्षम रहेको भन्ने गरिन्छ । राष्ट्रपति, प्रधानमन्त्रीदेखि कर्मचारीका हाकिम सबै क्षेत्रका विशिष्ट व्यक्तिहरु उनको आश्रममा आशीर्वाद लिन पुग्छन् । उनको सुरक्षा गार्डका रूपमा सरकारले एक प्रहरी हवल्दार समेत खटाएको छ । यसरी सबैले मान्दै र पुज्दै आएका सबैका गुरु यसरी एकपछि अर्को गर्दै विवादमा फस्दै गए, जसले गर्दा आफ्नै आश्रममा महायज्ञ गरेर जगतगुरु रामानन्दाचार्य पदवीबाट विभूषित भएका र गत असारमा भारतको अयोध्याबाट जगदगुरुको पदवी समेत लिएका कृष्णदासको जीवनमा नमेटिने दाग लागेको छ । जुन दाग मेट्न कृष्णदासले लाखौ कोसिस गरे पनि अब ती सबै प्रयासहरू निष्फल हुने छन् ।
समाजमा सबैले मानेका सबैका लागि मार्गदशक बनेका ब्यक्तीहरूबाट हुने अनैतिक र तुच्छ व्यवहारले गर्दा समाजमा कस्तो असर पर्ला ? यो सबैका एक सोचनीय बिषय बनेको छ । जनताको अमूल्य मतले देश र जनताका निम्ति कानुन निर्माण बनाउने तहमा पुगेकाहरू हुन वा सबैले मानेका गुरुहरू हुन यस्ता खालका जघन्य अपराधमा संग्लन भएपछि आम नागरिकहरूमाथि पनि एउटा निर्मम प्रश्न चिह्न खडा भएको छ । हामीहरू कस्ता व्यक्तिहरूलाई विश्वास गरिरहेका छौ ?