संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश उडान गर्ने हवाई सेवा कम्पनीलाई इन्धनमा सहुलियत दिने बताएका छन्। नेपाल नागरिक उड्यन प्राधिकरणद्वारा आज यहाँ आयोजित विराटनगर विमानस्थलको विकास र विस्तार लागि पारिएको गुरु योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रदेशको आर्थिक क्रियाकलापमा वृद्धि र काठमाडौँको हवाई ट्राफिक घटाउने सोचले आफूले कार्य गरिरहेको जानकारी दिए ।
मन्त्री भट्टराईले विराटनगर विमानस्थलको एक हजार ५०० मिटरवाट दुई हजार ५०० मिटर धावनमार्गको विस्तार गर्ने कार्य सन् २०२५ भन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विराटनगर विमानस्थलवाट हिमाली उडान सेवा शुरु गर्न प्रदेश सरकार तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउँदै उनले आगामी दिनमा साना जहाजको उडान प्रदेशको राजधानीबाट अन्य क्षेत्रमा हुने गरी काठमाडौँसँग प्रदेशको सम्पर्क उडान गर्ने नीति सरकारको छ भने ।
मन्त्री भट्टराईले विराटनगर तथा चन्द्रगढी विमानस्थलबाट बङ्गलादेशको शहीदपुर उडान चाँडै शुरु गर्ने सोचका साथ सरकारले आवश्यक गहृकार्य गरिरहेको उल्लेख गर्दै ठूलो जनसङ्ख्यामा रहेको भारतीय पर्यटकलाई ध्यानमा राखेर यहाँबाट दिल्ली र कोलकत्ता उडान गर्नुपर्नेमा जोड दिए ।
उनले निजी क्षेत्रको सहकार्यमा विमानस्थलको सञ्चालन गर्ने नीति सरकारको छ भन्दै उनले उद्यमीको पूँजीको सुरक्षाको ग्यारेण्टी सरकारले गर्ने हुनाले ढुक्कसाथ लगानी गर्न आह्वान गरे।