संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् ।
मन्त्री भट्टराईले राजदूत र वैदशिक साझेदार संस्था प्रमुखलाई आज मन्त्रालयमै आमन्त्रण गरेर छलफल गरी सो आग्रह गरेका हुन् । उनले भ्रमण वर्ष २०२० सफल पार्नमा नेपालस्थित राजदूतहरुको महत्वपूर्ण भूमिका भएको र भ्रमण वर्षका बारेमा विश्वभर सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे ।
“नेपाल भ्रमण वर्ष २०२० को विषयमा यहाँहरुका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरुको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु”, मन्त्री भट्टराईले भने, “मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष २०२० र क्रिसमस नेपालमै मनाउनुहोस्, यो सन्देश तपाईंको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस् ।”
सम्बन्धित देशका पर्यटनमन्त्रीलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै मन्त्री भट्टराईले पर्यटनमन्त्रीलाई उपस्थित गराइदिन पहलकदमीका अनुरोधसमेत गरे । उनले नेपालमा २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट विस्तारै उठिरहेको स्मरण गर्दै भने, “महाभूकम्पको पीडाबाट उठ्न गर्नुभएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछौं, अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौँ ।”
मन्त्री भट्टराईले महाभूकम्पबाट भत्किएका भएको नेपालका ८९१ सम्पदामध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिए । उनले दुई वर्षमा भत्किएका सबै सम्पदाको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको हुँदा सबैसँग सहयोगका लागि आह्वान गरे ।