पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरु पुरानो मानसिकताबाट अघि बढ्न नसकेको बताएका छन् । उनले कर्मचारीहरुले संघीय व्यवस्था पचाउन नसक्दा संविधानले प्रदेश र स्थानीय तहमा प्रत्यायोजन गरेको अधिकार प्रदेश र स्थानीय सरकारले उपयोग गर्न नपाएको गुनासो पनि गरे ।
अध्यक्ष दाहालले जिल्लामा रहेको कार्यालय अर्को जिल्लामा सर्दा नागरिकलाई सेवा पाउन गाह्रो भएको भन्दै सबैलाई सहज हुनेगरी सेवा केन्द्रहरु विस्तार गर्न आवश्यक रहेको बताए । विगतमा पछाडि पारिएका प्रदेशलाई विशेषाधिकार, रिजर्भेसन वा क्षतिपूर्तिका रुपमा विशेष कार्यक्रम दिएर अगाडि ल्याउनुपर्ने प्रचण्डको भनाई छ ।
उनले समान रुपमा कार्यक्रम दिँदा अगाडि रहेको क्षेत्र अगाडि भइरहने र पछाडि परेको क्षेत्र पछाडि भइरहने अवस्था आउन नहुने भन्दै सबैलाई समान हैसियतमा पुर्याउन सुदूरपश्चिम र कर्णाली प्रदेश जस्तालाई विशेष कार्यक्रम दिन आवश्यक रहेको दावी गरे । ‘यसका लागि आवाज उठाउन आवश्यक छ । पार्टीका तर्फबाट मैले पनि पहल गरिरहेको छु’ अध्यक्ष प्रचण्डको भनाई छ ।
शुक्रबार कैलालीको धनगढीमा सुदुरपश्चिम वित्तीय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले मुनाफा कमाउने वातावरण नभएपछि कसैले पनि लगानी गर्न नचाहनु स्वाभाविक रहेको धारणा राखे । ‘लगानीको वातावरण तयार गर्नुपर्छ । पुँजी जहिले पनि ओरालेतिर बग्ने गरेको छ । देशमा लगानीको वातारण नभए विदेशतिर बग्न सक्छ’ प्रचण्डले नीजि क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्नका लागि समयमा कानुन र सुरक्षाको व्यवस्था गरी नाफा कमाउन सक्ने वातावरण बनाउनुपर्ने पनि बताए । उनले त्रिदेशीय व्यापार मार्गको रुपमा गौरीफण्टा–चैनपुर–ताक्ला कोट राजमार्ग बनाउन पहल शुरु भएको जानकारी दिए । ‘गौरीफण्टा–चैनपुर–ताक्ला कोट राजमार्ग निर्माणका लागि हाम्रो ध्यान केन्द्रित भएको छ,’ उनले भने, ‘यसका लागि सरकारले काम शुरु गरिसकेको छ ।’
धनगढीमा सुरु भएको वित्तीय सम्मेलन वित्तीय पहुँचको सुनिश्चितता र प्रदेशमा आधुनिक बैंकिङ प्रणाली लागू गर्ने उदेश्यले सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलनको आयोजना गरेको हो ।