काठमाडौंको कमलादीमा ‘स्काई वाक भ्यू टावर’ बन्ने भएको छ । वन्डरर्स नेपाल प्रालिले दुई अर्बको लागतमा नाइट क्लबसहितको ‘स्काई वाक टावर’ बनाउने भएको हो ।
शनिबार आयोजित एक कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतले टावरको शिलान्यास गरे ।
कार्यक्रममा वण्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले देशभरका विज्ञ इन्जिनियर तथा डिजाइनरहरुबाट अध्ययन गराई यो टावरको निर्माण गर्न लागिएको जानकारी दिए ।
१३।२ रोपनी जग्गामा बन्ने ७८ मिटर उचाइको उक्त टावर २८ वर्षको लागि भाडामा लिएको कम्पनीले जनाएको छ । उक्त स्काई टावरको लिफ्ट चढेपछि ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र लिफ्ट रोकिन्छ । त्यहाँ ८ र १० ओटा कोठा, मिटिङ हल हुने कम्पनीले जनाएको छ ।
त्यसको माथि एक सय जना अट्ने रेष्टुरेन्ट हुनेछ भने सबभन्दा टपमा स्काई वाक हुनेछ । टावरमा मनोरन्जनका लागि नाइट क्लबहरु पनि सञ्चालन गरिनेछ । १८ महिनामा काम सक्ने कम्पनीले जनाएको छ ।
उक्त स्काई वाक टावरमा ११ जना लगानीकर्ता छन् । टावर बनाउने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ भने स्टिल स्ट्रक्चरको जिम्मा सेफ स्टिलले पाएको छ ।
स्काई वाक टावर दैनिक ४ हजार ४ सय जनालाई अवलोकन गराउन सक्ने क्षमताको हुनेछ ।