विद्यार्थीलाई ट्रकले घाइते बनाएपछि कोहलपुरमा प्रदर्शन गर्ने विद्यार्थीहरुमाथि प्रहरीले सय राउन्ड गोली चलाएको छ । स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ ।
भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको छ । स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ वर्षीया प्रकृति चन्द बाबुले चलाएको भे ६प २७४० नम्बरको स्कुटरमा बसेर स्कुल जाँदै थिइन् । पछिपछि आउँदै गरेको ना २ख ९४५९ नम्बरको ट्रकले पौने १० बजे ठक्कर दिएपछि बाबुछोरी दुईतिर उछिट्टिए । बीच सडकतिर लडेकी प्रकृतिलाई ट्रकको पछाडिको चक्काले पेल्यो । बाबु सामान्य घाइते मात्रै भए ।
स्कुलनजिकै दुर्घटना भएकाले तत्काल अन्य विद्यार्थीले थाहा पाए । विद्यार्थी र स्थानीय घटनास्थलमा जम्मा भए । प्रकृतिलाई उपचारका लागि कोहलपुर अस्पताल पुर्याइयो । घटनास्थलमा भने केहीबेरमै विद्यार्थी र अभिभावकले विरोध सुरु गरे ।
विद्यार्थी र अभिभावकको आक्रोश बढ्दै गर्दा प्रहरीले सजगता अपनाउन सकेन । विद्यार्थीले ठक्कर दिने ट्रकमा आगजनी गरे । प्रहरी थप गम्भीर हुनुपर्ने थियो, तर दमनको बाटो रोज्यो ।