सामुदायिक विद्यालयमा सरकारको लगानी उच्च रहे पनि प्रतिफल राम्रो रहेन: मन्त्री गुरूङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सामाजिक सञ्जालमा सरकार विरुद्व भ्रम सिर्जना गरी नकरात्मक प्रचार गर्ने शक्तिलाई उपनिर्वाचनले जवाफ दिएको बताएका छन् । रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपालिका ११ रिघाको हीरक महोत्सवको उदघाटन समारोहमा बोल्दै मन्त्री गुरुङले सरकार योजनावद्व ढंगबाट विकास निर्माण र समृद्धिमा अगाडि बढिरहेको दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेतृत्वमा रहेको २ तिहाईको सरकार सबैको साझा भएको मन्त्री गुरुङको भनाइ थियो । विकास निर्माणका कुरामा सरकारले कसैलाई काख र कसैलाई पाखा नगरेको बताउँदै आँखा चिम्लेर भ्रमको पछि नलाग्न आग्रहसमेत गरे ।



वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई ५ प्रतिशतबाट बढाएर ८ प्रतिशत पुर्याएको बाट पनि सरकारको कार्य प्रगति जनता माँझ छर्लङ्ग भएको मन्त्री गुरुङको दावी थियो । सरकारले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरेता पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुन नसक्नु बिडम्बनापूर्ण भएको बताए । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा सरकारको लगानी उच्च रहेको बताउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न गम्भीर भएर सोच्न जरुरी रहेको पनि बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद चन्द्र बुढा सागर, सांसद खिमविक्रम शाही, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला ईन्चार्ज बलावती शर्मा, नेपाली काङ्ग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, शिक्षा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्याय, वडा अध्यक्ष डम्मर श्रीस, नगर शिक्षा अधिकृत पदमराज आचार्य, गलकोट माध्यमिक विद्यालयका प्रधानध्यापक देबेन्द्र खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हीरक महोत्सवको अवसरमा स्थानीय कला संस्कृति झल्कने रिघाको सोरठी, विद्यार्थीद्वारा पिटी प्रदर्शन गरिएको थियो । हीरक महोत्सवमा विद्यालयले करिब २ करोड आर्थिक संकलन गरेको छ । महोत्सवमा चन्दादाताहरूलाई सम्मानसमेत गरिएको थियो । महोत्सवको अवसरमा अन्तर विद्यालय स्तरीय छात्र फुटवल प्रतियोगिता, छात्रा भलिबल प्रतियोगिता लगायतका विविध कार्यक्रमहरु आयोजना गरिएको विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार