नेपाल प्रवेश गर्‍यो शक्तिशाली पश्चिमी वायु, सतर्कता अपनाउन आग्रह

नेपालमा शक्तिशाली पश्चिमी वायु प्रवेश गरेको छ । यसले कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली प्रवेश गरेको हो । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ ।



बिहीबार यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको महाशाखाले आज (बिहीबार) बिहान जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिएको महाशाखाको मौसमविद्को अनुमान छ ।

साथै यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसमविद्को भनाइ छ ।

 

सम्बन्धित समाचार