सम्पादकीय
काठमाडौं, २६ मंसिर ।
नेपालले आयोजना गरेको तेह्रौं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) मंगलबार सम्पन्न भएको छ । सागको आरम्भ र समापनलाई भव्य र सभ्य बनाउन नेपालले कुनै कसर बाँकी राखेन । अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्न नेपाल सक्षम छ भन्ने सन्देश दिन तेह्रौं साग सफल भएको छ । सागमा नेपाली खेलाडीले देखाएको प्रदर्शन र प्राप्त गरेको उपलब्धि प्रशंसा योग्य छ । सबै खेलाडीहरू बधाईका पात्र बनेका छन् ।
सागमा नेपालले ५१ वटा स्वर्णसहित २०६ वटा पदक जित्न सफल भयो, यसलाई महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । बाह्रौं सागमा नेपालले उल्लेखनीय केही गर्न सकेको थिएन । बरू १९९९ मा भएको सागमा नेपालले ३२ स्वर्णसहित ६६ पदक जितेको थियो । अनपेक्षित रूपमा तेह्रौं सागमा नेपालले ऐतिहासिक दोस्रो स्थान प्राप्त गरेकोले मात्र होइन, नेपाली खेलाडीले यसै संस्करणबाट नयाँ इतिहास बनाउन सफल भएकोले पनि खेलाडीहरू बधाईका पात्र बनेका हुन् ।
खेलाडीहरूले प्रदर्शन गरेको खेल–कौसलको मुक्त कण्ठले प्रशंसा गर्नै पर्छ । यो प्रशंसा कसैको चाकडीको लागि नभएर देशको नामलाई एउटा नवीन उचाइमा पुर्याउन तथा नयाँ इतिहास बनाउन समर्पित कीर्तिमानी खेलाडीको मनोबल उच्च बनाउनको लागि हो ।
तेह्रौं साग नेपालका लागि ऐतिहासिक बन्यो । नेपालको अन्तर्राष्ट्रिय छवी राम्रो बन्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विजेता खेलाडीहरूलाई बधाई मात्र दिएनन्, उनीहरूलाई आकर्षक नगद पुरस्कारको पनि घोषणा गरे । देश खेलाडीहरूको योगदानको कदर गर्छ भन्ने सन्देश दिने प्रधानमन्त्रीको यो घोषणा पनि स्वागतयोग्य छ । यस घोषणाले खेलाडीहरूको आत्मबल बढ्ने कुरामा सन्देह रहेन । घोषणामा कुनै प्राविधिक त्रुटि भएको भए सच्याउनु पर्ला तर यो घोषणाले खेलमा समर्पित खेलाडीहरूलाई पक्कै पनि ठूलो राहत पुग्ने छ ।
२६ वटा खेलमा भाग लिएर २५ वटा खेलमा विजयश्री प्राप्त गर्नु सामान्य विषय होइन । कुसल व्यवस्थापन भएको भए परिणाम् अझ अर्कै हुने सम्भावना देखियो । अन्तर्राष्ट्रिय स्तरको खेलमा भाग लिनुपूर्व खेलाडीहरूका लागि जुन प्रकारको तयारी र प्रशिक्षण हुनुपर्छ, नेपाली खेलाडीले त्यो स्तरको सुविधा र अवसर कहिल्यै पाउँदैनन् । नेपाली खेलाडीहरूलाई माथि उठाउने उनीहरूको आत्मबल नै हो । आफ्नै बलबुता र तयारीमा पनि जुन लेबलको उपलब्धि यसपाली प्राप्त भएको छ, त्यो प्रशंसायोग्य छ । यसले के देखाएको छ भने यदि नेपाली खेलाडीले राम्रो प्रशिक्षण र त्यही अनुसारको वातावरण पाउने हो भने खेलकूदका कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलाडीले आफूलाई अब्बल सावित गरेर देखाउन पछि पर्दैनन् ।
सागको चौधौं संस्करण अबको दुईवर्षपछि पाकिस्थानमा र अर्को वर्ष नै जापानमा ओलम्पिक खेल हुँदैछ । नेपाली खेलाडीहरूले समयमा नै राम्रो प्रशिक्षण र हौसला पाउने हो भने त्यहाँ पनि खेलाडीहरूले नेपाललाई कीर्तिमानी जित दिलाउन कुनै कसर बाँकी राख्ने छैनन् । अहिलेका कमीकमजोरीहरू आगामी दिनमा नदोहोरियोस् भन्नका लागि समयमा नै सम्बन्धित निकाय सचेत हुन सके खेलको इतिहासमा नेपालले नयाँ नयाँ उचाइ थप्तै जाने पक्का देखिएको छ । नेपाली खेलको विजय–यात्राले निरन्तरता पाउन सकोस्, फेरि पनि बधाई छ कीर्तिमानी खेलाडीहरूलाई !