बाआमाले अब छोराछोरी खेल क्षेत्रमा लागेर बिग्रिए भन्ने स्थिति आउने छैन : सिलवाल

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवालले १३औं दक्षिण एशियाली खेलकुद (साग) सफल रूपमा समापन भएको बताएका छन् । विहीवार रिपोर्टस क्लव नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सिलवालले सागको उदघाटनदेखि समापनसम्मको व्यवस्थापनमा केही सानामसिना विषयबाहेक सबैमा सफल भएको बताए ।

उनले १२औँ सागमा तीनओटा मात्रै स्वर्ण पदक जितेको अवस्थामा तेह्रौं सागमा पचासभन्दा बढी स्वर्ण पदक जित्नेमा धेरै मानिसहरूलाई शंका भए पनि आफूहरूले खेलाडीहरूलाई राम्रोसँग प्रशिक्षण गरेर लक्ष्य हासिल गर्न सकेको बताए । खेलकुद क्षेत्रका लागि यसपछिका दिनहरूमा सरकार, खेलाडी र राखेप सबैले विशेष ध्यान दिनु पर्ने कुरामा उनले जोड दिए । साथै, अबको लक्ष्य भनेको १४औँ साग, आइरहेको ओलम्पिक खेल, एसियन खेल र वल्डकप भएको बताउदै उनले भने, ‘हामी दक्षिण एशियाको पावर हाउसको रूपमा विस्तारै अघि बढिरहेका छाैं’,  यसपछि एशिया, युरोप हुँदै वल्डकपसम्म पुग्नु छ । खेलाडीहरूको आत्म्–सम्मान, आत्म गौरव र यो खेल सकेपछि के गर्ने भन्ने स्थितिको अन्त्य गर्ने मेरो पहल हुने छ । अब बाआमाले पनि छोराछोरी खेल क्षेत्रमा लागेर बिग्रिए भन्ने स्थिति आउने छैन ।’



सरकारले पदक विजेता खेलाडीहरूलाई विशेष पुरस्कारको घोषणा गरेपछि यसबारे अन्यौल भइरहँदा उनले सागमा नेपालकी सर्वाधिक पदक विजेता पौडीवाज गौरिका सिंहले ५९ लाख रूपैयाँ नगद पाउने स्पष्ट पारे । साथै, उनले सागमा भएको सम्पूर्ण खर्चको हिसाबकिताब ९० दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाए ।

सम्बन्धित समाचार