काठमाडौंको चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ। बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो।
‘अहिले हल्काफुल्का हिउँ परिरहेको छ, साँझसम्म धेरै नै पर्ला जस्तो छ,’ चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले भने।
हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ। शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रबार साँझ पानी पर्न सक्ने जनाएको छ। ‘एकदम हल्का वर्षा त भइसक्यो। आज साँझ ६(७ बजेतिर काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी पर्ने देखिएको छ,’ महाशाखाकी मौसमविद् विभुति पोखरेलले भनिन्।
उनका अनुसार शनिबारदेखि भने मौसममा सुधार हुँदै जानेछ। ‘यसपालिको पश्चिमी वायुको प्रणाली बलियो छ। तर शनिबार साँझदेखि यसको प्रभाव हट्दै जान्छ। शनिबार बिहान पनि आजजस्तो धुम्म बादल लाग्दैन,’ पोखरेलले भनिन्।