-महेश कठायत
काठमाडौं, २९ मंसिर ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफूलाई लोकतन्त्रको पर्यायवाची ठान्दछ । नेपाली राजनीति परिवर्तनको एक पक्षधर रूपमा रहदै आएको कांग्रेस पछिल्लो समयसम्म आइपुग्दा आन्तरिक विवादका कारण भद्रगोल अवस्थामा पुगेको छ । नेपाली राजनीतिक इतिहासमा विभिन्न आन्दोलनको नेतृत्व गर्दै आइरहेको कांग्रेसले देश र जनताका लागि के कति योगदान गर्न सक्यो, त्यो त इतिहासले मूल्याङकन गर्ला तर त्योसँगै स्वयम कांग्रेस आफूभित्र पनि कति सबल र सक्षम बनेको छ, अहिलेको अवस्थामा त्यो नै महत्वपुर्ण विषय बनेको छ ।
कांग्रेस आन्तरिक विवादका कारण अझ भनौ पार्टीभित्रको गुटबन्दीका कारण अहिले अप्ठ्यारो परिस्थितिमा रूमल्लिएको छ । आफ्नो बलियो इतिहास बोकेको कांग्रेस के साच्चै अब उठ्नै नसक्ने गरी पछारिएको हो त ! कांग्रेसको घर झगडा कति समयसम्म रहला या कहिले अन्त्य होला ? यो सामान्य कार्यकर्तादेखि सबैले गर्ने चिन्ता र चासोको विषय बनेको छ ।
कांग्रेसका भातृसंगठनकै कुरा गर्दा पनि समयमा महाधिवेशन हुन नसकेपछि नेपाल विद्यार्थी सघंमा तदर्थ समिति बनाउनुपर्ने माग पनि समय समयमा उठ्तै गरेको छ । अहिले तदर्थ समितिबाट नेतृत्व चयन गर्ने जिम्मा स्वयम् पार्टी सभापति शेरबहादुर देउवालाई नै दिइएको छ । तर पार्टीका नेताहरूको गुटबन्दीले गर्दा अहिलेसम्म पनि नेविसंघ नेतृत्वविहीनको अवस्थामै छ । यसमा मुख्य गरेर उमेर विवाद नै मिलेको छैन्, जसका कारण सभापतिले देउवाले पनि कुनै निर्णय गर्न सकिरहेका छैनन् । उल्टै आफू ४९ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका देउवा नेविसंघमा ५० कटेकालाई ल्याउने पर्यत्न गरिरहेका छन् । यसले गर्दा झन् विवाद बल्झेको देखिन्छ ।
चार जना मात्रै रहेको तरूण दलको पनि कार्यकाल पनि सकिएको छ । तरूण दलको म्याद छ महिना थप गर्नेतर्फ पाटी सभापति देउवा देखिन्छन् । तर यता नेविसंघ र तरूण दलमध्ये एकमा आफ्नो पक्षका नेताले नेतृत्व गर्न पाउनुपर्ने अडान पौडेलको रहेको छ, जसले गर्दा नेविसंघ र तरूणदल दुवैमा अहिले छिट्टै नै नयाँ नेतृत्व आउन सक्ने सम्भावना देखिदैन ।
त्यस्तै, आगामी फागुनमा कांग्रेस महाधिवेशन सम्पन्न भएको ४ वर्ष पूरा हुनै लाग्दा आफ्नो कार्यकाल १ वर्ष थप्ने दाउ सभापति देउवाको रहेको देखिन्छ । तर असन्तुष्ट पक्षको आरोप छ– महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नु पर्ने बेलामा सभापति आफ्नो पक्ष बलियो बनाएर चुनाव प्रभावित पार्ने खेलमा लागेका छन् । यी कांग्रेसभित्र वर्तमान अवस्थामा देखिएका केही प्रतिनिधि घटना मात्र हुन् ।
कांग्रेस विगतदेखि नै चरम गुटबन्दीले ग्रसित छ । यही चरम गुटबन्दीकै कारण कांग्रेस अहिले बादलभित्र हराएको कागझै भएको छ भन्दा फरक नपर्ला । केन्द्र र प्रदेशमा प्रतिपक्षको हैसियतमा मात्र सीमित रहेको कांग्रेसले प्रतिपक्षको भूमिका पनि सशक्त रूपमा निभाउन नसक्दा बहुमतको सरकारले गर्न सक्ने सम्भावित गलत निर्णयको प्रतिकार गर्न सकिरहेको छैन । पार्टीिभत्रको चरम गुटबन्दीका कारण धेरैजसो समय सत्तामै रहेकोले कांग्रेसले संसदमा सशक्त प्रतिपक्षीको भूमिका निभाउन नसकेको कतिपयको विश्लेषकहरूको बुझाइ छ । केही समयअघि भएको उप–निर्वाचनको बेला सरकारका असफलताहरूलाई औल्याएर चुनावमा होमिएको कांग्रेसले आफ्ना सफता र असफलतालाई पनि मनन् गर्नु पर्ने होइन र ? कांग्रेसले आत्मसमीक्षा गर्ने बेला अझै आएको छैन ? आफूभित्र रहेका कमजोरीहरूलाई सुधार गरेर आगामी दिनहरूमा कसरी अघि बढ्ने भन्ने विषयलाई गौण ठान्नु कांग्रेसको महाभूल हुन सक्नेछ ।
कांग्रेसमा आन्तरिक गुटबन्दीलाई बढावा दिने प्रमुख पात्रहरूमा माथिल्लो तहकै नेताहरू पार्टी सभापति देउवादेखि लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइरालालगायतका रहेका छन् । यसरी केन्द्रमै व्याप्त गुटबन्दीले गर्दा नेतृत्वको कार्यशैलीमा समेत सुस्तता आएको देखिन्छ । कांग्रेसभित्रको आन्तरिक विवादको चुरो प्रायः सबैले पार्टी सभापति शेरबहादुर देउवालाई नै देख्ने गर्दछन् । केही हदसम्म यो सत्य पनि हो । किनभने पार्टीको सम्पूर्ण जिम्मेवारी पाएको नेताले गुट उपगुटलाई नै प्रश्रय दिनु अशोभनीय हो । तसर्थ पार्टीका नेता कार्यकर्ताहरूले देउवालाई दोषी देख्नु अस्वभाविक होइन । तर नेता तथा कार्यकर्ताहरू पनि आ–आफ्नो भूमिका र जिम्मेवारीबाट उम्किने ठाउँ छैन । पद र जिम्मेवारी अनुसारको जवाफदेहीता सभापतिदेखि कार्यकतामा हुनुपर्छ । पार्टीभित्र देउवाले पनि आफ्नो ढिपी त्याग्नु पर्छ । प्रजातान्त्रिक पार्टीको नेतृत्वले आफूलाई मात्र सर्वेसर्वा ठान्नु किमार्थ राम्रो होइन । देशकै अभिभावक बनिसकेका देउवाले पार्टीमा मात्रै आफ्नो प्रभुत्व जमाउन खोज्नु आफैंले आफ्नो परिधि साँघुरो पार्नु हो । घरमुलीदेखि लिएर सबैले व्यक्तिगत स्वार्थ त्यागेर सिङ्गो पार्टीलाई नै एउटा गुट बनाउन सके कांग्रेसको आन्तरिक विवाद केही हदसम्म अन्त्य हुने देखिन्छ । कांग्रेस एक ढिक्का हुन सकेको अवस्थामा स्थानीय तहदेखि संघीय संसदसम्म सफल प्रतिपक्ष बन्न सक्नेछ र राम्रो भूमिकाको लागि जनताबाट प्रशंसा पनि बटुल्न सक्ने छ । जनताको यही प्रशंसा आगामी चुनावमा भोटका रूपमा रूपान्तरित हुने छ ।