प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् । पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न प्रधानमन्त्री ओलीले गृह तथा भौतिक मन्त्रालयका पदाधिकारीलाई आज प्रधानमन्त्री निवासमा बोलाएर त्यस्तो निर्देशन दिएका हुन् ।
गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ तथा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायतलाई प्रधानमन्त्रीले संयुक्तरुपमा निर्देशन दिए । भावुक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउने गरी सडक नियम पालना गराउन निर्देशन दिए ।
“सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिसे भएको खबर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ” प्रधानमन्त्री ओलीले भने, ‘यस्ता दुर्घटनाले ठूलो सङ्ख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । त्यसले कति वृद्धवृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ । यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु पर्यो ।’