उपसभामुख शिवमाया तुम्बाहाङ्फेको दावीअनुसार उनी भावी सभामुखको लागि स्वाभाविक उम्मेदवार हुन् । उनी आवद्ध दल नेकपाले औपचारिक निर्णय गरिसकेको छैन। उपसभामुख तुम्बाहाङ्फे नै सभामुख होलिन् नहोलिन् भन्ने विषय छलफलकै चरणमा छ । संसद्को हिउँदे अधिवेशनदेखि उनी उपसभामुख भने नरहने निश्चित छ ।
करिब दुई वर्ष समय गुजारेर बाहिरिन लागेकी उपसभामुख तुम्बाहाङ्फेको कार्यकाल भने प्रश्नरहित रहेन । उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई मंगलबार शपथ गराइन्, जुन विवादित बनेको भन्ने खबर कान्तिपुर दैनिकमा छ।
संविधान, प्रतिनिधिसभा ऐन र नियमावलीमा सभामुख या सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रतिनिधिसभा सदस्यलाई शपथ गराउन सक्ने व्यवस्था छ । तुम्बाहाङ्फेले उपसभामुखको काम, कर्तव्य र अधिकार क्षेत्राधिकार विस्तार लगायत विषयमा बहस सुरु गराएकी छन् । उपसभामुख भइकलन सभामुखका हैसियतमा काम गर्दा भने उनी आलोचनामुक्त भइनन् ।