नेकपा स्थायी समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ । मंगलबारको बैठकमा घनश्याम भुसालले पार्टी पुनर्निर्माणको प्रस्ताव राखेका छन् । राजतन्त्रको अन्त्यसँगै समाजवादउन्मुख कार्यभारअनुसारका चुनौती सामना गर्ने गरी पार्टीलाई नयाँ ढाँचामा पुनर्निर्माण गर्नुपर्ने निचोडका साथ भुसालले छुट्टै लिखित प्रस्ताव पेस गरेका हुन् ।
वैचारिक र सांगठनिक अस्पष्टता, गुटबन्दी, विधिविहीनताबाट पार्टीपंक्ति परिचालन गर्दा फरक परिणाम नआउने उनको दाबी छ । भुसालले अध्यक्ष ओली र प्रचण्डले प्रस्ताव गरेको आगामी कार्ययोजनाअनुसारको परिणामका लागि केन्द्रीय कमिटी बैठकअगावै एक साताको छुट्टै कार्यशालाको समेत प्रस्ताव गरेका छन् ।
‘उही काम दोहोर्याएर फरक परिणामको आशा गर्नु बुद्धिमानी हुँदैन भनिएझैँ आजकै वैचारिक र सांगठनिक अस्पष्टता, गुटबन्दी र विधिहीनता बोकेर कार्यकर्ताको परिचालन र अधिवेशन गर्दा फरक परिणाम नआउने कुरा स्पष्ट छ, बरु यथास्थितिकै विस्तार हुनेछ,’ भुसालले भनेका छन्, ‘केन्द्रीय कमिटीको आगामी बैठकभन्दाअघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यका बीच ‘आजको पार्टी’ वा ‘कम्युनिस्ट पार्टीको आजको कार्यभार’ वा यस्तै कुनै उपयुक्त शीर्षकमा ५–७ दिनको कार्यशाला आयोजना गरियोस् । त्यस कार्यशालामा पार्र्टीका सैद्धान्तिक, राजनीतिक र सांगठनिक क्षेत्रका सबै विषयमा छलफल गरेर निष्कर्ष निकालियोस् र केन्द्रीय कमिटीमा ती निष्कर्षहरू पेस गरियोस् ।’
कार्यशालाले केही समय लिए पनि पार्टीका विचार, संगठन र कार्यक्रमका बारेमा छलफल गर्न र आमसहमति कायम गर्न सकिए वास्तविक अर्थमा पार्टी पुनर्गठन हुने र क्रान्तिका चौतर्फी कार्यभार बहन गर्न सक्षम हुने भुसालको दाबी छ ।