देशभर चिसो बढ्दो अवस्थामा छ । काठमाडौंसहित देशभरका शहरमा मापन गरिएको तापक्रम पनि क्रमश: घटिरहेको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम यसवर्षकै कम हो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको थियो ।
मौसमविद्हरुले अब तापक्रम अझै घट्ने र चिसो बढ्ने अनुमान रहेको बताएका छन् । तराई–मधेसका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । ती जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।
साथै मध्य र पश्चिमी पहाडी भूभाग तथा काठमाडौं उपत्यकाका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हुस्सु कुहिरोका कारण तराईका जिल्लामा हुने हवाई उडान प्रभावित भएको छ ।