सम्पादकीय
काठमाडौं, ३ पुष ।
जुन नारा लगाएर र जुन सपना देखाएर नेकपा सरकारको बागडोर सँभाल्न पुगेको थियो र नेपाली जनताले पनि दुई तिहाइको सरकारबाट जुन आशा र अपेक्षा राखेका थिए, ती सबै तुषारपात भएको छ । एउटा चकलेट पाउँदा फुरुङ्ग हुने सडकछाप बालकझैं कुनै एउटा सानोतिनो काम गर्यो भने सकार फुरुङ्ग बन्छ र ठाउँ पाउनासाथ सरकारका प्रवक्ता कटाक्ष प्रहार गरिहाल्छन् । बाघको शिकार गर्न भनेर निस्केकाहरू बँदेल बोकेर फर्किन्छन् र भन्छन्– यो विशेष प्रकारको बँदेल हो । यो आत्मरति नभएर के हो ?
मुलुकमा समस्याहरूका चाङ छन् । दुई तिहाइको सरकारबाट जनअपेक्षा पनि कम छैन । तर सरकार समस्याहरूको प्राथमिकता निर्धारण गरेर क्रमशः समाधान गर्नतिर अग्रसर हुनुपर्नेमा अन्तै कतै अल्मल्लिइरहेको छ । अर्थशास्त्रीहरू नेपालको अर्थतन्त्र अधोगतिमा छ भन्छन् । विकासको गति अत्यन्त मन्द छ । महङ्गीले आकाश छोएको छ । बेथिति, अराजकता र भ्रष्टाचारले नयाँ इतिहास बनाउँदै छ । चुनावी घोषणापत्रमा लेखिएका र प्रधानमन्त्रीले देखाएका सपनाहरूले लिष्ट बनाउने हो भने लामै होला तर जनताले प्रत्याभूति पाउने खालको उल्लेखनीय केही भएको छैन । केही भएको छ भने सत्ताको नजिक रहेर चाकडी गर्दै लाभ लिनेहरूलाई भएको छ, बाँकी सबै निराश नै छन् ।
पञ्चायतको शब्दबाहेक प्रवृत्तिमा ठूला अन्तर अहिले पनि छैन । पहिलेका पञ्च र अहिलेका मन्त्रीहरूबीचको अन्तर भेटाउन आयोग नै बनाउनु पर्ला । नेकपाका अध्यक्ष बनेका प्रचण्डले जुन शासन सत्ताको सपना बाँडेर जनताका छोराछोरीलाई प्राणको आहुति दिन हिजोका दिन प्रेरित गरेका थिए, के यही हो त उनको आदर्श शासन व्यवस्था ? के यत्तिकै लागि थियो दसवर्षे जनयुद्ध ? आज उनी निर्देशन दिने र समाज रूपान्तरणको लागि आवश्यक निर्णय लिन सक्ने ठाउँमा विराजमान छन् । केले रोकेको छ उनलाई र दुई तिहाइको सरकारलाई जनताका पक्षमा निर्णय लिनलाई ? कर्मचारीले साथ दिएनन् भनेर रोइलो गर्न सुहाउँछ उनलाई ? यो त आफ्नो कमजोरी लुकाउन गरिएको विषय अन्तर मात्र हो । आफू सत्तामा पुग्न र विलासी जीवन बिताउनकै लागि मात्र यति धेरै नेपाली मारिएका हुन् भने ती देशका लागि निःस्वार्थ प्राण आहुति दिनेहरूको रगतले अझै पोल्ने छ उनलाई ।
सत्तासिन पार्टीका अनगिन्ति कमीकमजारीहरू प्रतिपक्ष दलका लागि जनताको मन जित्ने राम्रो आधारभूमि बन्नु पर्ने हो तर प्रतिपक्षी दल काङ्ग्रेस पनि जिम्मेवारीविमुख बनेको छ । उसले सत्तापक्षका कमजोरीलाई जनताको मन जित्ने रणनीति बनाउन सकेन । आफूलाई लोकतन्त्रको पर्याय र नेपाली राजनीतिको निर्णयक शक्ति ठान्ने काङ्ग्रेसको भूमिकाबाट पनि जनता निराश बनेका छन् । इतिहासले मात्र जनताका समस्याहरूको समाधान हुन सक्तैन । आन्तरिक किचलोमा फँसेको काङ्ग्रेस पार्टी र डेट एक्पायर भएका औषधिजस्ता बनेका नेताहरूको परम्परागत सोचबाट विमुक्त हुन नसक्ने हो भने यो पनि मुलुकका लागि अर्को दुर्भाग्यको विषय बन्ने छ ।
सत्तामा पुगेपछि सरकारहरू प्रायः निरङ्कुश बन्ने गर्छन् । जनताका समस्याभन्दा निजी लाभका विषयमा सरकार र मन्त्रीहरू केन्द्रित हुने हुँदा त्यसको खबरदारी गर्ने र सरकारलाई सचेत गराउने कार्य प्रतिपक्षले गर्ने हो । सरकारले गरेका सबै खाले गलत कार्यको मुकदर्शक बन्ने र जनताका भोगाइ र समस्याका बारेमा नबोल्ने हो भने प्रतिपक्षको पनि औचित्य समाप्त भएर जानेछ ।
जनताका समस्याहरूमा सरकार मौन हुने र प्रतिपक्षले पनि जनताको भाषा नबोल्ने हो भने विकास र समृद्धिका कुरा नेताको भाषणमा सुन्दरता थप्ने अलङ्कार मात्र हुनेछन् तर जनताको पीडामा मलमपट्टी लगाउन सक्ने छैनन् । हिजोको शासन व्यवस्था गलत भएकोले नेपाली समाज रूपान्तरण हुन सकेन, त्यसैले जनताका छोराहरू बन्दुक बोक्न बाध्य भए, आज जनताका छोराको हातमा शासन सत्ता छः यस शासन व्यवस्थाले सीमान्तकृत वर्गदेखि सबै वर्गको हित गर्नेछ भनेर व्यवहारमा रूपान्तरण गर्न अहिले सत्ता पक्ष र प्रतिपक्ष दुबैका लागि सुनौलो अवसर प्राप्त छ । यस अवसरलाई जति चाँडो व्यवहारमा रूपान्तरण गर्न सकियो, त्यति नै मुलुकको हितमा हुने छ ।