नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ पुस ।
क्रिसमसको नाममा जबरजस्ती धार्मिक विकृति भित्र्याउन खोजिएको भन्दै विभिन्न संघ संस्थाहरूले विरोध जनाएका छन् । नेपालमा नेपालको मौलिक धर्मसंस्कारमा हुर्केका बालबालिकालाई जबरजस्ती क्रिसमस डे मनाउन प्रेरित गरिएको भन्दै विभिन्न संघ–सस्थाहरूले त्यसको विरोध गरेका छन् ।
हिन्दु जागरण नेपाल, विश्व हिन्दु अन्तर्राष्ट्रिय युवा संघ, हिन्दु युवा संयोजन नेपाल, सनातन विद्वत परिषद् नेपाल, भागवत सेवा संघ र विश्व हिन्दु महासंघ नेपालले बिहीवार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै हिन्दु धर्ममाथि क्रिश्चियन धर्मले हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।
हिन्दु जागरण नेपालका प्रशिक्षण प्रमुख ध्रुवराज लुइटेलले नेपालमा क्रिश्चियनहरूले मुख्य गरेर शिक्षा क्षेत्रबाट हिन्दु धर्ममाथि आक्रमण गर्न लागिरहेको भन्दै सबै मिलेर आ–आफ्नो धर्म बचाउनु पर्ने बेला आएको बताए । उनले हिन्दुहरूका परम्परा र धर्म संस्कृतिलाई परास्त गर्ने र सन् २०३० सम्ममा नेपाललाई क्रिश्चियन राष्ट्र बनाउने क्रिश्चियनहरूको लक्ष्य रहेको बताए । ‘समाजमा जबर्रजस्ती क्रिश्चियन धर्म मान्न लगाउने क्रिश्चियनहरूलाई सरकारले कारवाही नगरे हामीहरू तिनीहरूलाई देशबाट लखेट्ने छौं’ लुइटेलले भने ।
त्यसैगरी, शिवसेना मजदुर प्रमुख मनोजराज सापकोटाले इसाईहरू देशमा मुसा बनेर आउने र हात्ती बनेर निस्कने गरेको आरोप लगाउदै यस्ता विषयमा सरकार मात्र नभएर सबैले जाग्नु पर्ने बेला आएको बताए । स्कुलहरूमा अध्ययनरत स–साना नानीबाबुहरूलाई क्रिश्चियनहरूले आफ्नो धर्मको प्रचारको माध्यम बनाउँदै आएको बताउदै उनले अब सबै अभिभावकहरूले स्कुलमा गएर आफ्ना नानीबाबुहरू बारे बुझ्न र सचेत हुन आव्हानसमेत गरे । उनले आफूहरू धर्मको विरोधी नभएको तर अरूको धर्ममाथि आक्रमण भए आफू चुप लागेर नबस्ने पनि बताए ।
सरकार स्वयम् क्रिश्चियन धर्मको प्रचारमा लागेको भन्दै वीर गोर्खालीका अभियान्ता नगेन्द्र देउजाले दुई तिहाइको सरकारसमेतलाई अहिले क्रिश्चियनहरूले चलाइरहेको गम्भीर आरोप लगाए ।
विश्व हिन्दु महासंघ नेपाल उपत्यका संयोजक दिनेशकुमार सिजापतिले विदेशी संस्कृतिको सिकोले गर्दा नेपाली धर्म संस्कृति सङ्कटमा परेको भन्दै चिन्ता व्यक्त गरे । उनले भावी पुस्ताहरूमा नैतिक शिक्षाको कमी भएकाले अब सरकारले यसमा विशेष जोड दिनुपर्ने बताए ।