नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भौगोलिक अखण्डता असंशोधनीय रहने बताएका छन् । नेता सिटौलाले भने, ‘संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सक्दैन । भौगोलिक अखण्डता नै राष्ट्रियताको पहिचान हो।’
‘अहिले पश्चिममा कालापानी, लिम्पियाधुरा क्षेत्रको नेपाली भूमि भारतले मिचेको विषय चर्चाको शिखरमा छ’, उनले भने, ‘हामीले सरकारलाई भनेका छौं। मित्र राष्ट्र भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गरेर समाधान गरियोस्।’
‘यो हल्ला गरेर भन्दा पनि दुई देश बीचमा राजनीतिक र कूटनीतिक पहल गरेर सीमा विवादको विषय समाधान गर्न सरकारलाई कांग्रेसले सुझाव दिइसकेको छ’, उनले भने, ‘प्रधानमन्त्री जीले बोलाउनु भएको सर्वदलीय बैठकमा कांग्रेस यी सुझाव राखेको हो। बैठकमा सरकारले गर्छु भनेको छ। तर के गरेको छ, हामीलाई जानकारी प्राप्त भएको छैन।’