नेकपालाई राष्ट्रपतिले हस्तक्षेप गरेको आरोप, प्रचण्ड आक्रोशित

यी हुन् बैठक छोडेर लन्चका लागि शीतल निवास जाने नेताहरू

नेकपाको स्थायी समिति बैठक जारी रहेकै वेला राष्ट्रपति विद्या भण्डारीले झन्डै एकचौथाइ नेताहरूलाई सरकारी निवासमा बोलाएर छलफल गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाएर ११ नेतालाई ‘लन्च’ खुवाएको घटनाले नेकपा बैठकमा नेताहरूबीच भनाभनसमेत भएको छ ।

राष्ट्रपतिको लन्च मिटिङमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता देवेन्द्र पौडेल सहभागी थिए ।



बैठकमा शनिबार नेताहरू पातलिए। धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरूले प्रश्न उठाए । ‘यो के गरेको ? विधिरपद्धति यही हो ? ’खैलाबैला मच्चियो। अध्यक्ष पुष्पकमल दाहालले कुनै स्रोतबाट सुइँको पाएका आधारमा जवाफ दिए, ‘उहाँहरू राष्ट्रपतिकहाँ जानुभएको हुन सक्छ।’

सदस्य संख्या कम भएपछि केही बेर बैठक स्थगन गर्नुपर्यो। ‘पार्टी बैठक सुरु भएको एक घण्टासम्म अध्यक्षलाई नै जानकारी नदिई नेताहरू उपस्थित नहुनु गम्भीर विषय हो’, आक्रोशित हुँदै दाहालले भने, ‘राष्ट्रपतिले हाम्रो पार्टी बैठक चलिरहेका बेला नै किन बोलाउने ? फेरि राष्ट्रपतिले बोलाउँदैमा पार्टी अध्यक्षलाई जानकारी नदिई नेताहरू किन जाने ? सबै नेता पार्टी अनुशासनमा रहनुपर्छ।’

त्यसपछि सुरु भएको बैठकमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेताहरूका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आत्मालोचना गरे। ‘राष्ट्रपतिले आर्थिक विकास, समृद्धि, अर्थतन्त्र र समाजवादका विषयमा छलफल गर्न हामीलाई शीतल निवास बोलाउनुभएको थियो। यो पूर्वनिर्धारित कार्यक्रम थियो’, परराष्ट्रमन्त्री ज्ञवालीले भनेका थिए, ‘उहाँले लन्च खाएर जान आग्रह गरेपछि पार्टी बैठकमा आउन केही ढिलाइ हुन पुग्यो। पार्टी अध्यक्षलाई ढिलो आउने जानकारी गराउन नसकेकामा क्षमायाचना गर्दछु।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक राजनीतिक जीवनमा हस्तक्षेप गरिरहेको आरोप लागिरहेको छ। यी बेला शनिबार बिहान ११ बजे १२ जनाजति प्रभावशाली नेता पार्टी नेतृत्वलाई जानकारी नगराई शीतल निवास पुगेका हुन्।

सम्बन्धित समाचार