चिनियाँ नागरिकले लामो समयदेखि शंकास्पद व्यवहार देखाएको सूचना गृह मन्त्रालयसम्म पुग्यो । काठमाडौंका बाँसबारी, बूढानीलकण्ठ र मनमैंजुमा घरै भाडामा लिएर बसेका उनीहरूको गतिविधिप्रति स्थानीयलाई शंका लागेको थियो।
मन्त्रालयमा गत साता बसेको सुरक्षा समिति बैठकमा त्यसबारे गम्भीर चर्चा चल्यो । प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले चिनियाँ बसेका घरमा प्रहरी खटायो । भित्र छिर्न परिचयपत्र देखाउनुपर्ने र नौलो व्यक्ति देखेपछि उनीहरूले शंकास्पद व्यवहार देखाए । त्यसको रिपोर्टिङ प्रहरी महानिरीक्षकदेखि गृहमन्त्रीसम्म पुग्यो ।
सीआईबीमा आइतबार काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाका अधिकारी सम्मिलित बैठक बस्यो । सोमबार संयुक्त रूपमा अपरेसन गर्ने निर्णयमा प्रहरी पुग्यो । त्यहीअनुसार अपरेसनको नेतृत्व सीआईबीले गरेको छ । त्यसमा बालाजु र महाराजगन्ज वृत्तका प्रहरीसमेत सामेल थिए । प्रहरीले तीन घरमा एकसाथ अपरेसन गर्दा चिनियाँ नागरिक झस्किएनन् मात्रै ‘तपाईहरु को हो’ भन्दै प्रश्न गरे।
एकै दिन ९७ चिनियाँ पक्राउ परेका छन् । पर्यटक भिसामा आएका उनीहरूका राहदानी, ल्यापटप, मोबाइल र विभिन्न कागजपत्र प्रहरीले बरामद गरेको छ । अधिकांशको भिसा म्याद सकिएको पाइएको छ । होटल भनेर बसे पनि साइनबोर्डसमेत नभेटिएको प्रहरीले जनाएको छ । ‘पर्यटक बनेर बसेका छन् । होटल भनेर बसे पनि कुनै साइनबोर्ड छैन’, सीआईबी प्रमुख डीआईजी नीरज शाहीले भने, ‘हामी उनीहरूलाई एकै स्थानमा भेला गरेर स्क्रिनिङ गर्छौं ।’
पछिल्लो पटक चिनियाँ ह्याकर पक्राउ परेका थिए । ठमेलमा पनि चिनियाँ नागरिकले शंकास्पद गतिविधि देखाउँदै आएको सूचना प्रहरीमा पुगेको थियो भनेर अन्नपूर्ण पोस्ट्मा खबर छ ।