मोहन विक्रमले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले समाजवादी पार्टीका नेता उपेन्द्र यादवले संविधान संशोधनका लागि लगेको प्रस्ताव अस्वीकार गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

उपप्रधानमन्त्री समेत रहेका यादव मंगलबार सरकारबाट बाहिरिएपछि सिंहले एक वक्तव्य जारी गरेर भनेका छन्,‘संविधानमा संशोधन गर्ने सहमति सहित उपेन्द्र यादवलाई सरकारमा सामेल गरेकोमा त्यो बेला नै हामीले ओली सरकारको कडा आलोचना गरेका थियौँ । आवश्यकतानुसार संविधानमा संशोधन गर्ने कुरामा हाम्रो कुनै मतभेद छैन । संविधानमा त्यसरी संशोधन गर्दै जानु पनि पर्दछ । तर मधेशवादीहरूले जसरी संविधानमा संशोधन गर्न खोजेका छन्, ती राष्ट्रघाती प्रकारका छन् । त्यसैले हामीले उपेन्द्र यादवसँग संविधानमा संशोधन गर्ने जुन सहमति गरिएको थियो, त्यसको विरोध गरेका थियौँ ।’



सिंहले वक्तव्यमा अगाडि भनेका छन्,‘अहिले संविधानमा संशोधनको त्यो सहमतिलाई कार्यान्वयन नगरेको भनेर उपेन्द्र यादवले सरकारबाट राजीनामा दिएका छन् । थाहा भएअनुसार, त्यसबारे उपेन्द्र यादवले मन्त्रीमण्डलमा लगेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए । त्यसका लागि हामी प्रधानमन्त्री ओलीलाई धन्यवाद दिन्छौँ । हामीले आशा गर्दछौँ त्यही प्रकारले राजपाले संविधानमा संशोधनका लागि गर्ने कुनै पनि प्रकारको दबाबलाई पनि उनले अस्वीकार गर्दै जानेछन् ।’

सम्बन्धित समाचार