सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउन सहमत भएका हुन् । यो सँगै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आजै राजीनामा दिने स्रोतको दाबी छ ।
संविधानसभाको सभामुख पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका नेम्वाङ नेकपाभित्र सबैले रुचाउने नेतामा पर्छन् । पछिलो समय पटक–पटक भएको ओली र दाहालबीचको छलफलबाटै नेम्वाङलाई नै सभामुखको उम्मेदवार बनाउने सहमति जुटेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बनाउन गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालसमेत सहमत भएका हुन् ।
यसअघि अध्यक्ष दाहालले सभामुखका लागि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, स्थायी कमिटीका सदस्यद्वय अग्नि सापकोटा र पम्पा भुसालमध्ये एकलाई बनाउन खोजेका थिए । तर, प्रधानमन्त्री ओलीले नेम्वाङलाई अघि सारेपछि दाहालले त्यसमा सहमति जनाएको बालुवाटार स्रोतले जनाएको छ ।
सभामुखमा नेम्वाङ फाईनल भएसँगै उपसभामुख साना दलले पाउने भएका छन् । पछिल्लो समय सरकारमा सहभागि जनाउन राजपा सहमत भएकोले उसैले उपसभामुख पाउन सक्ने अड्कल काटिएको छ ।
समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई तिहाइ गुमाएलगत्तै राजपालाई सरकारमा ल्याएर गुमेको दुई तिहाइलाई यथावत् राख्ने कोसिस थालेका छन् । सोही कोसिसअनुसार प्रधानमन्त्री ओलीले राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोलगायत सो दलका अन्य नेताहरुसँग समेत औपचारिक र अनौपचारिक छलफल थालेका छन् ।
राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महतोले समेत पार्टी संघीय सरकारमा सहभागी हुन सक्ने संकेत यसअघि नै गरेका छन् ।