प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकासका लागि कानून बाधक नबन्ने बताएका छन् । सर्वोच्च बार एकाइद्वारा आजदेखि शुरु भएको ‘कानून र विकास’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘विकास समग्र समाज र राष्ट्रको आवश्यकता हो । विकास र आर्थिक समृद्धिको विषयमा न्यायपालिका पनि संवेदनशील बन्नुपर्दछ ।’
‘कानून विकासको अधार भएकाले कानूनले विकासका लागि उपयुक्त वातावरण तयार पार्नेछ’, उनले भने, “कानून र विकासमा अन्तरद्वन्द्व भएका कानून प्रतिकूल रहेका अवस्थामा बाहेक अदालत विकास पक्षमा उभिने छ ।”
प्रधानन्यायाधीश राणाले कानून र कार्यविधि स्पष्ट भयो भने त्यसले विकासका लागि बधक नबन्ने भन्दै कानूनले विकासका लागि सहकार्य गर्नुपर्ने बताए ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विकासमैत्री कानून बनाउनुपर्नेमा जोड दिदैं अहिलेको संविधान विकासप्रेमी रहेकाले सरकारले विकासका लागि बाधक बन्ने कानूनलाई संशोधन गर्नुपर्ने बताए । ‘स्थिर सरकार छ, नेतृत्व पनि सबल छ’, उनले भने, ‘विकासका विषयमा अलमल भएकाले विकास नभएको हो ।’
राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले विकासका लागि अदालत बाधक बन्न नहुने बताए ।
महान्यायधिवक्ता अग्नि खरेलले कानून विकासको समृद्धिको आधार रहेकाले विकास गर्नका लागि कानूनलाई व्यवस्थित बनाउनुपर्ने बताए ।
नेपाली काँग्रेसका नेता रामशरण महतले विकासका लागि कानून सहयोगी बन्नुपर्ने उल्लेख गर्दै विकासका लागि कानून बाधक बने त्यसलाई संशोधन गर्दै लैजानुपर्ने बताए।