नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस सङ्गठन नेपाललाई निर्देशन दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले भने, “इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूलाठूला परिवर्तन भएका छन् ।”
परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए । “अहिलेको अन्तरराष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ । त्यसमा पनि इन्टरनेट र डिजिटलाइजेशन मुख्यरूपमा काम गरेको छ । त्यसका लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ”, उनले भने ।
उनले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजग हुनुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह पनि गरे ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिबद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको अध्यक्षको भनाइ थियो । “पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौँ । पाँच वर्षका लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौँ । पाँच वर्षका लागि बनेको सरकारले इमान्दारीका साथ काम गरिरहेको छ ।”
उनले सरकारले इमान्दारीका साथ काम गरिरहेकाले विरोधीले गरेको जस्तो प्रचारले कुनै अर्थ नराख्ने भन्दै त्यस्ता प्रचारको खण्डन गर्नसमेत आग्रह गरे । पाँच वर्षका लागि सरकार दिन्छौँ भनेका थियौँ त्यो हामीले दिएका छौँ” पूर्ण अवधिका लागि बनेको सरकारले इमान्दारीका साथ काम गरिरहेको छ, कुनै आशङ्का नपालौँ, नराखौँ”, उनले भने । पार्टीका विचार, राजनीतिक दृष्टि र पार्टीका कार्यक्रमलाई जनतामा लग्नुपर्ने बताउँदै उनले राष्ट्रको स्वतन्त्र जनतामा राष्ट्रको स्वन्त्रतता र भौगोलिक अखण्डतालाई संरक्षण गर्ने काममा कम्युनिष्ट पार्टीले नै राष्ट्रको एकतालाई सुदृढगरी अग्रणी र नेतृत्वदायी भूमिका खेलेको स्मरण गरे।