सत्तारूढ नेकपाले विकास र सहयोगसम्बन्धी अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने संकेत दिएको छ । पार्टी स्थायी समिति बैठकपछि अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले केन्द्रीय नेताहरूलाई जारी ‘गोप्य अन्तरपार्टी निर्देशन– ३’ मा एमसीसीप्रति लचक देखिएको हो ।
सर्कुलरमा छलफल र प्राप्त तथ्यले ‘एमसीसी’ इन्डो प्यासिफिक रणनीतिको अधीनस्थ छैन भन्ने देखाएको उल्लेख छ । निर्देशनमा भनिएको छ, ‘एमसीसी इन्डो प्यासिफिक रणनीति अधीनस्थ छ कि छैन ? र एमसीसीअन्तर्गतको ५०० (५० करोड अमेरिकी डलर हुनुपर्नेमा निर्देशनमा अंक गलत लेखिएको छ) अमेरिकी डलर बराबरको अनुदान सहयोग नेपालले लिन हुन्छ कि हुँदैन ? भन्ने विषयमा बैठकमा गम्भीरतापूर्वक छलफल भयो ।
प्राप्त तथ्यले एमसीसी इन्डो प्यासिफिक रणनीति अधीनस्थ छैन भन्ने देखाएको छ। तथापि बैठकले समग्र पक्ष बुझेर उपयुक्त निर्णय गर्ने जिम्मेवारी पार्टी केन्द्रीय सचिवालयलाई दिएको छ।’ अध्यक्षद्वयले १० पुसमा हस्ताक्षर गरेको सर्कुलेसन शनिबार नेताहरूलाई जारी गरिएको हो।