विशेष कार्यक्रम गर्दै डायनामिक स्काउटको तेस्रो वार्षिकोत्सव सम्पन्न

डायनामिक स्काउट युनिटले शनिबार विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । भीएस निकेतन तीनकुने, काठमाडौंको सभाहलमा आयोजित कार्यक्रममा डायनामिक स्मारिकाको लोकार्पण, डायनामिक हिरो अवार्ड प्रदान तथा डायनामिक स्काउट युनिटले वर्षभरि गरेका विविध क्रियाकलापमा विशेष योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो । डायनामिक स्काउट क्र्यूका अध्यक्ष श्रीवत्स बस्न्यातको सभापतित्व गरेका कार्यक्रममा प्रमुख अतिथिको आशन ग्रहण नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रविन दाहालले गरेका थिए ।

डायनामिक स्काउटको तेस्रो वार्षिकोत्सवको विशेष आकर्षणका रूपमा ‘डायनामिक हिरो अवार्ड’ कसको पोल्टामा पर्छ भन्ने रहेको थियो । विभिन्न मानकहरूलाई आधार मान्दै निर्णय गरिने यस अवार्डको व्यग्रताका साथ प्रतीक्षा गरिएको थियो । अन्ततः सबैको कौतुहलतालाई समाप्त पार्दै उद्घोषकले उक्त अवार्डका लागि सज्जु बुढाथोकीको नाम लिँदा तालीको गडगडाहटले पूरै हल गुञ्जिएको थियो । हिरो अवार्ड विजेता सज्जु बुढाथोकीलाई कार्यक्रमका प्रमुख अतिथि रविन दाहालले अवार्ड प्रदान गरेका थिए । अवार्डबाट सम्मानित सज्जु बुढाथोकी डायनामिक स्काउट क्र्यूमा सिनियर टिममेटका रूपमा कार्यारत छिन् ।



उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्याउने चारजना व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । यस क्रममा कुमार व्यञ्जनकारलाई ‘डायनामिक नजिकको साथी’ सम्मान, डा. सुरज कर्माचार्यलाई ‘डायनामिक सहयोगी हात’ सम्मान, दोर्चे शेर्पालाई ‘डायनामिक साहसिक’ सम्मान तथा हेमन्त भण्डारीलाई ‘डायनामिक युवा उद्यमी’ सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा डायनामिक स्काउट क्र्यूले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा विशेष योगदान गर्ने विश्वनाथ बाँनिया, रकु बोहोरा, मानस्वी गुरुङ, आर्यान बराल, सोनाम लामा, संयोग श्रेष्ठ तथा मनाङ स्वास्थ्य शिविरमा सहभागी डा. रविन्स दाहाल, चन्द्रबहादुर माझी, अस्मिता सिल्पकार, डिल्ली भट्टराई, अमरदीप भट्टराई, शर्माजी प्युठान, वातावरण पत्रकार समूह– आँखीझ्याल तथा मनकामना औषधि वितरकलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

विशेष अतिथि, अतिथि, स्काउट, शिक्षक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको छोटो तर व्यवस्थित कार्यक्रममा वरिष्ठ साहित्यकार युवराज नयाँघरेलगायतले शुभकामना मन्तव्य दिएका थिए भने भीएस निकेतनकी प्रिन्सिपल संगीता श्रेष्ठले विश्वका सात महाद्वीपका अग्ला हिमाल आरोहणका तयारीमा रहेका डायनामिक स्काउट क्र्यूका सद्भावनादूत पर्वतारोही प्रकाशराज पाण्डेलाई १५ लाख नगद सहयोग गर्ने घोषणा गरेकी थिइन् ।

सम्बन्धित समाचार