नेकपा सचिवालय बैठक अनिर्णयमै टुङ्गियो

सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्न बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कुनै पनि निर्णय बिना टुङ्गिएको छ ।

नेकपाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको थियो । तर, यी दुवै एजेण्डामा कुनै निर्णय गर्न नसकी बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार बिहान सचिवालय बैठक बसे पनि कुनै निर्णय नगरेको जानकारी दिएका छन् ।



संसद कर्मचारीमाथि बलात्कारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार पठाउने योजना बनाएको छ ।

यद्यपि, नेकपाले अहिलेसम्म कसलाई सभामुख गराउने भनेर निर्णय लिन सकेको छैन । नेकपाले सभामुख चुन्न नसक्दा संसदको काम कारबाही प्रभावित हुँदै आइरहेको छ । आइतबार पनि यसबारे नेकपाले निर्णय लिन नसकेकाले संसदको अन्योल बढेको छ ।

एमसीसीमार्फत् प्राप्त हुने ५५ अर्ब अनुदान स्वीकार गर्ने कि नगर्ने भन्ने बहस पनि नेकपाभित्र छ । अमेरिकाले यो सहयोग इण्डो प्यासिफिक रणनीतिअन्तर्गत भएको समाचार प्रकाशमा आएपछि नेकपाका लागि यो टाउको दुखाइको विषय बनेको छ ।

नेपालले सभामुखको चयन गर्न नसक्दा प्रतिनिधिसभा बैठकमा समेत यसको असर परेको छ । सभामुख चयन प्रक्रिया अहिले शितलनिवास, बालुवाटार र खुमलटारको चेपुवामा परेको नेताहरु बताउँछन् ।

सम्बन्धित समाचार