आफ्नै अनुयायीको बलात्कार गरेको अभियोग लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा) को थुनछेक बहसलाई मध्यनजर गर्दै सुनसरी जिल्ला अदालत परिसर बाहिर निषेधाज्ञा जारी गरिएको छ ।
पक्ष र विपक्षमा सर्मथकहरूको नारा जुलुस गरेपछि भीडलाई मध्यनजर गर्दै अदालत परिसरबाहिरको करिब २० मिटर वरिपरिको क्षेत्रमा प्रवेश निषेध गरिएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा नाराबाजी र प्रदर्शनलाई बन्देज गरिएको छ । प्रहरीको निषेधाज्ञापश्चात अदालतबाहिरको क्षेत्रमा समर्थन र विरोधमा नाराबाजी थालिएको छ ।
यसैबीच, प्रहरीले सिद्धबाबालाई अदालतमा उपस्थित गराएको छ । प्रहरीले उनलाई विराट नर्सिङ होमबाट एम्बुलेन्समा राखी अदालतमा उपस्थित गराएको हो । अदालतले थुनछेकको प्रक्रिया सुरु भएको जनाएको छ ।
सुनसरी जिल्ला अदालतका अनुसार थुनछेकका लागि ११ जनाको वकालतनामा परेको छ । पीडित महिलाको तर्फबाट सरकारी वकिलको कार्यालय सुनसरीका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला सहित छ जनाले बहस गर्दै छन् ।
वादीतर्फका न्यायाधिवक्ताहरूमा अनिल रेग्मी, अनन्त न्यौपाने, नवराज विष्ट, रेणुका राई र रेवती सुवेदी छन् ।
त्यसैगरी प्रतिवादी तर्फबाट डा। दिनेशराज सत्यालसहित सरोज गिरी, मोहन कोइराला, रमेश पराजुली र रुपेश कोइरालाले गिरीको बचाउमा वकालत गर्दैछन् ।
थुनछेक बहस बेलैमा सकिए अदालतले आजै साँझसम्म आदेश गर्न सक्ने सम्भावना रहेको कानुन व्यवसायीहरूको भनाइ छ । बहस लम्बिएको खण्डमा भने अदालती प्रक्रिया अर्को दिनलाई सर्न सक्ने सम्भावना छ ।
भोलि सोमबार अदालत छेउँमै हटिया लाग्ने र भीडभाड बढी हुने सम्भावनालाई मध्यनजर गर्दै आज कार्यालय समयभित्रै बहस सकिए साँझ अबेरसम्ममा आदेश आउन सक्नेसमेत अड्कलबाजी भइरहेका छन् ।
शुक्रबार अदालतभित्र गिरीको बयान लिइँदै गर्दा परिसरबाहिर समर्थन र विरोधमा भएका नाराबाजी र भीडलाई मध्यनजर गर्दै आज प्रहरीले कडाइ गरेको छ ।
अभियोग प्रमाणित भए गिरीलाई ७ देखि १० वर्ष सजाय हुन सक्नेछ । गिरीले शुक्रबार अदालतसमक्ष आफूमाथि लगाइएको अभियोग अस्वीकार गर्दै बयान दिएका छन् ।