नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्ठी सभापति शेरबहादुर देउवालाई महाधिवेशनबाट विस्थापन गर्ने बताएका छन् । आफूले पार्टी एकताको लागि एक प्रकारको सौहार्दता देखाएको तर देउवाले भने पार्टीमा केवल मनपरी ढंगले गलत निर्णय गर्दै गएको हुनाले आफूले बोल्नैपर्ने अवस्था आएको पनि कोइरालाले बताए । एक अनलाईनलाई अन्तर्वार्ता दिंदै उनले अब देउवासँग कुनै प्रकारको वार्ता नहुने र सम्पूर्ण पार्टी एक भएर पहिले देउवालाई महाधिवेशनबाट विस्थापन गर्ने बताए ।
कम बोल्ने, कसैप्रति आरोप नलगाउने, कार्यकर्ताको सुझाव सुन्ने तर आफ्नो धारणा सार्वजनिक गरिनहाल्ने नेताका रुपमा चिनिने नेता डा। कोइरालाले अब आफू खुलेरै पार्टीको नेतृत्व परिवर्तन गर्न अघि बढेको स्पष्ट पारे ।
कुराकानीको क्रममा उनले भनेका छन् ‘हाम्रो योजना के हो भने हामी गाउँ गाउँ जान्छौं र कार्यकर्तासँग छलफल गर्छौं । त्यो छलफलको आधारमा रणनीति तयार पार्नुपर्यो । अधिवेशनलाई मुख्य लक्ष्य बनाउने हो । अबको महाधिवेशनमा शेरबहादुर देउवाको विरुद्धमा हामी जति छौं ती सबै एकठाउँमा उभिन्छौं । र, सभापतिमा एकजनालेमात्रै उम्मेदवारी दिन्छौं । त्यो गर्नभन्दा पहिले कार्यकर्तालाई भेला गरेर राय सल्लाह लिएपछि सभापतिको उमेदवार भन्न सक्छौं । हामी सात–आठ जना छौं । सबैको कुरा सुनेपछि हाम्रो समूहको छलफल गरेर सभापतिमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्छौं ।’