नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।
मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका अध्यक्ष सिपी गजुरेलले राष्ट्रिय स्वाधीनताको पक्षमा बोल्नेहरूमाथि सरकारले दमन गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भारतले जारी गरेको आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेपछि आफूहरूले त्यसको विरोध गर्दा आफूहरूमाथि दमन गरेको आरोप लगाएका हुन् ।
अध्यक्ष गजुरेलले आइतबार सीमा अतिक्रमणबारे नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार जाने क्रममा आफूहरूलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै सरकार फासीवादतर्फ उन्मुख भएको आरोप लगाए । प्रहरीले निशेधज्ञा तोडेको भने पनि आफूहरूले त्यस्तो नगरेको जनाउदै उनले हिजो घटना प्रायोजित घटना भएको र अन्धाधुन्ध लाठीचार्ज गरी आफूलाई नियन्त्रण लिने काम भएको बताए ।
उनले नेपाली भूमिलाई नेपालीको भूमि भन्न नपाउनु सम्पूर्ण नेपालीहरूका लागि नै दुर्भाग्य भएको बताए । ‘राजस्थानी लुगा लगाएर लुम्बिनीमा मोदी भेट्ने प्रधानमन्त्री ओलीलाई अहिले सीमा विवाद समाधानका लागि वार्ता गर्न के समय नमिलेको हो ?’ उनले अगाडि भने– ‘सडक आन्दोलन गर्न नपाउने, कालापानी नेपाली भूमि हो भन्न नपाउने, नेपाली भूमिबाट भारतीय सेना हटाउनु पर्छ भन्न पनि नपाउने यो कस्तो सरकार हो ?’
सरकारले आफूले गर्नुपर्ने काम पनि नगरेको भन्दै उनले नेपालको सीमा मिचिएको विषयमा नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले आफ्नो तहमा वार्ता गर्नुपर्ने बताए । अमेरिकी सहयोग एमसीसीमा नेपाल सहभागी भए नेपालको असंलग्न राष्ट्रको चरित्र गुम्ने बताउदै अध्यक्ष गजुरेलले नेपाललाई विदेशीको कुरूक्षेत्र बनाउनबाट बचाउनु पर्ने धारणा राखे ।