बुटवललाई पर्यटकीय ‘हव’ बनाउछौं: मुख्यमन्त्री पोखरेल

बुटवलमा दोस्रो सडक खाना महोत्सव सोमवारदेखि शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ रुपन्देहीले सडक खाना महोत्सव आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटनमैत्री संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । प्रदेशको समृद्धिको आधार पर्यटन भएकाले जनताको जीवनस्तर परिवर्तन गर्न पर्यटनको विकास आवश्यक रहेको उनको भनाइ थियो । मुख्यमन्त्री पोखरेलले बुटवललाई पर्यटकीय ‘हव’ बनाउन परम्परागत शैलीमा परिवर्तन गरी पर्यटकलाई नयाँ स्वाद र पृथक आनन्दको अनुभूति दिलाउन सक्नुपर्ने बताए ।



मुख्यमन्त्री पोखरेलले हप्तामा एक दिन स–परिवार घर बाहिर गएर खाना खाने परिपाटीको विकास गर्न आवश्यक रहेको बताए । “प्रायः भान्साको काम दिदीबहिनीको हुन्छ । हप्तामा एक दिन अरुको बिदा हुन्छ तर उहाँहरुले आराम गर्ने दिन पाउनुहुन्न । यसमा सुधार ल्याउन हप्तामा एक दिन घर बाहिर गएर खाने बानीको विकास गर्नुपर्छ”, उनले भने, “यसो गर्दा एक दिन भए पनि महिलालाई आराम मिल्छ ।”

सम्बन्धित समाचार