ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण उपभोक्ता समिति मार्फत गरिने भएको छ । सिंहदरबारस्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालयमा सोमबार बसेको बैठकले रातो मच्छिन्द्रनाथको मन्दिरको पुनःनिर्माण उपभोक्ता समिति मार्फत गराउने निर्णय गरेको हो ।
यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण अघि बढाइएको थियो । पूर्वयोजना अनुसार मन्दिर पुनःनिर्माण अघि नबढेपछि ठेक्का तोडिएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण प्राधिकरणको विशेष प्राथमिकतामा परेकाले रानी पोखरीमा अपनाइएको मोडेलअनुसार उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरिने निर्णय भएको जानकारी दिए ।
रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माणको अनुगमनका लागि प्राधिकरणको नेतृत्वमा समिति पनि गठन गरिने भएको छ ।
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, संघीय सांसद पम्फा भुसाल, प्रदेश सभासद जीवन खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, पुरातत्व विभागका प्रतिनिधि, वडाध्यक्ष सहभागी थिए ।
ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले समयतालिका बनाएर रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण गरिनु पर्नेमा जोड दिँदै आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताए ।