अध्यक्ष यादवकाे चेतावनी : मधेशमा फेरि ठूलो आन्दोलन हुन्छ

समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् ।

युवा संघ महोत्तरीको जिल्ला सम्मेलनलाई आज जलेश्वरमा सम्बोधन गर्दै उनले वर्तमान सरकारले आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशीको हकअधिकार दिन आनाकानी गरेको हुँदा आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेशमा पुनः ठूलो आन्दोलन गर्ने बताए ।



पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले संविधान संशोधन गरेर जबसम्म मधेश र मधेशीलाई बराबरीको हक दिँदैन, तबसम्म आफूहरु आन्दोलन गरिराख्ने र मधेशी जनताले आफूहरुलाई सधैं सहयोग गरिरहने बताए ।

उनले भने, ‘आफ्नो पार्टी अब सडक र सदन दुवै ठाउँबाट सङ्घर्षका कार्यक्रमहरु अगाडि बढाउने तथा पूर्ण रुपमा अधिकार प्राप्त नहुन्जेलसम्म सङ्घर्षका कार्यक्रम निरन्तर चलिरहन्छ ।’

अध्यक्ष यादवले वर्तमान सरकार आफूहरुलाई वाचा गरेर पनि मधेश र मधेशीलाई हकअधिकार दिनबाट खुट्टा पछाडि तानेको तथा संविधान संशोधन गर्न नमानेको भन्दै सोही कारण आफूहरुले सरकार छाडेको स्पष्ट पारे । उनले अब मधेशी जनताले ठूलोभन्दा ठूलो अन्तिम आन्दोलन गर्न पुनः जरुरी भएको भन्दै आन्दोलनका लागि सबैलाई तयार रहन आग्रह समेत गरे ।

सम्बन्धित समाचार