नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा प्रदेश राजधानी टुंगो लगाउने तयारी छ । आजको बैठकले प्रदेश १ र ५ को नाम र राजधानीबारे निर्णय गर्नेछ ।
१३ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेर प्रदेश सभालाई त्यसै अनुसार गर्न निर्देशन गरेको थियो ।
बैठकमा रिक्त रहेको सभामुखबारे छलफल हुनेछ । अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भए पनि निष्कर्ष निस्किन नसक्दा सभामुखको विषयले बैठकमा प्रवेश पाउनेछ । पूर्व एमालेबाट सुवासचन्द्र नेम्बाङ र पूर्व माओवादीबाट अग्नी सापकोटा सभामुखका मुख्य दावेदार छन् ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बैठकमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल हुने जानकारी दिए । बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।