सत्तारूढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधिसभाको सभामुख चयन, राष्ट्रियसभाको उम्मेदवार चयन, प्रदेशको राजधानी र नाम, एमसिसी विवादको विषयमा छलफल गर्ने नेकपाको सचिवालय बैठक बसेको हो ।
बिहीबार करिब ४ घण्टा लामो बसेको बैठक बिनानिष्कर्ष स्थगित भएको हो । राष्ट्रियसभाको उम्मेदवारमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी नाम ल्याएपछि बैठक निष्कर्षविहीन हुन पुगेको एक सचिवालय सदस्यले जनाए। प्रतिनिधिसभाको सभामुखमा पनि प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आआफ्नो दाबीबाट पछि हटेका छैनन् ।
ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रचण्डले अग्निप्रसाद सापकोटालाई बनाउन चाहेका छन् । यता, उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि आफ्नो अडानबाट पछि हटेकी छैनन् । उनले सभामुखमा आफ्नै दाबी गरिरहेकी छिन् । उनको पक्षामा राष्ट्रपति विद्यादेवि भण्डारीको साथ पाएकी छिन् । यसबारे आजकाे बैठकले टुंगाे लगाउनेछ ।
यस्तै, नेकपाभित्र विवादमा रहेको एमसिसि परियोजनाको विवादले नेताहरू नै फरकफरक धारमा उभिएका छन् । इन्डो प्यासिफिक रणनीतिको अंश भएकाले एमसिसी स्वीकार गर्न नहुने पक्षमा एकतर्फी नेताहरू देखिएका छन् । तर, सरकारका प्रवक्ता गोकुल बाँस्कोटा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका नेताले एमसिसी हिउँदे अधिवेशनबाट पास हुने जिकिर गरिरहेका छन् ।
यसअघि बसेको सचिवालय बैठकले प्रदेश ३ को राजधानी र नामकरणा गरेको थियो। त्यसको चौतर्फी विरोध भइरहेको छ। बिहीबार बसेको बैठकले नामकरण र राजधानी तोक्न बाँकी रहेको प्रदेशको विषयमा समेत छलफल भएको बताइएको छ।