शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेर पाठ्यपुस्तक छपाइको अनुगमन गरेका छन्। शिक्षा सचिव महेश दाहाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम भट्टराई लगायतको टोलीले केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक रङ्गीन पाठ्यपुस्तक छपाइको अनुगमन गरेको हो ।
अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले अब सातवटै प्रदेशमा केन्द्रको कार्यालय विस्तार गर्दै प्रदेशबाटै पुस्तक छपाइ र वितरणको काम शुरु गर्ने गृहकार्यमा लागेको बताए। उनले ७५३ वटै तहमा कार्यालय स्थापना गर्न नसकिने भन्दै प्रदेशमै केन्द्रको कार्यालय खोलेर अगाडि बढाउनुपर्ने बताए ।
फागुन र वैशाखबाट नयाँ शैक्षिकसत्र शुरु हुने भएकाले पाठ्यपुस्तक समयमै पुर्याउन सकिने आधार पाएको बताउँदै उनले भने, ‘अहिलेको अवस्था हेर्दा समयमै केटाकेटीलाई पुस्तक पुर्याउने हाम्रो पहिलो जिम्मेवारी पूरा गर्न सक्छौ, कुनै समस्या आएमा सचिवस्तरीय बैठकले सुल्झाएर अगाडि बढ्छ ।’
आफू २०७२ सालमा शिक्षामन्त्री हुँदा रङ्गीन पुस्तक छपाउने सपना र निर्णय अहिले पूरा भएको बताउँदै मन्त्री पोखरेलले भने, ‘मेरो २०७२ को सपना अहिले आएर साकार हुँदै आएको छ, २०७२ मा नेपालको झण्डा पनि कालो छापिन्थ्यो, त्यसैले रङ्गीन पुस्तक छाप्ने निर्णय गर्यौं, अहिले कक्षा ८ सम्म पुस्तक रङ्गीनमा छाप्दैछौँ, त्यो सपना पूरा हुँदैछ ।’
समयमै पुस्तक छपाइ गरेर समयमै विद्यालयहरुमा पुर्याउन केन्द्रले आफैँलाई परिवर्तन गर्दैै लैजानु जरुरी रहेको बताउँदै उनले केन्द्र अब आफैँ पनि आत्मनिर्भरतर्फ जानुपर्ने बताए । सार्वजनिक संस्था जसरी पनि सफल हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उनले केन्द्रमा नयाँ प्रविधि र नयाँ मेशिन आएकाले पुस्तक छपाइसँगै संस्थालाई आत्मनिर्भर बनाउन नयाँ योजना र नयाँ काम ल्याउनुपर्नेमा जोड दिए ।