१२२ चिनियाँलाई देश निकाला, आजै चीन पठाइने

काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँलाई देश निकाला गरिने भएको छ । अध्यागनम विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेर उनीहरुलाई देश निकाला गर्न लागिएको हो । १२२ चिनियाँलाई बुधवार डिपोर्ट गर्न लागिएको तिवारीले बताए ।

नेपालमा बसेर चीनमा विभिन्न अपराधमा संलग्न भएको आरोपमा पुस २३ गते उनीहरु पक्राउ परेका थिए । स्रोतका अनुसार उनीहरुलाई लैजानका लागि नेपाली विमान नै चिनियाँ पक्षले चाटर्ड गरेको छ । तिवारीका अनुसार उनीहरु सबैको ट्राभल डकुमेन्टको अनुसन्धान गरिएको थियो ।



उनले भने,‘नियमित रुपमा हामीले हाम्रो कानुनविपरीत काम गर्नेहरुलाई डिपोर्ट गरेकै छौं । यो संख्या ठूलो भएर चर्चा भएको हो ।’ पक्राउ परेका सबै चिनियाँ पर्यटक भिसामा नेपाल आएको खुलेको छ । प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको थियो ।

पक्राउ परेका सबैलाई अभद्र व्यवहारमा सामान्य मुद्दा चलाइएको थियो । सुरक्षा अधिकारीका अनुसार ताइवानलगायत हङकङ, भियतनाम, कम्बोडियालगायतका देशहरुका ‘एन्टी चाइनिज’ नागरिकले चीनको अर्थतन्त्रमा ठूलो असर पार्ने अपराधिक योजना बनाएका थिए ।

त्यही क्रममा चीनले केन्या, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, थाइल्यान्ड, बर्मुडा, मलेसिया, फिलिपिन्स, अष्ट्रेलिया, कम्बोडिया र दक्षिण अमेरिकाबाट हजारौं चिनियाँलाई पक्राउ गरेर चीन लगेको थियो । त्यसका लागि नेपालमा सहकार्य गरेजस्तै चिनियाँ सुरक्षा ऐजेन्सीले सहयोग गरेको थियो ।

सम्बन्धित समाचार